बुटवल समाचारदाता
बुटवल, पुस १८ गते । खानेपानीमन्त्री प्रदीप यादवले बुटवलवासीलाई शुद्ध खानेपानी उपलब्ध गराउन सरकार दृढ रहेको बताउनुभएको छ । उहाँले निर्माणाधीन झुम्साखोला खानेपानी आयोजना यथाशीघ्र निर्माण सम्पन्न गरी बुटवलवासीको शुद्ध खानेपानीको सपना पूरा गर्ने आश्वासन दिनुभएको हो ।
मङ्गलबार बुटवल खानेपानी सुधार आयोजना अन्तर्गत नेपाल खानेपानी संस्थानबाट निर्माण भइरहेको झुम्साखोला खानेपानी आयोजनाको बाँध स्थलको प्राविधिक टोलीसहित स्थलगत निरीक्षणका क्रममा खानेपानीमन्त्रीले यस्तो बताउनुभएको हो । “बुटवलवासीले लामो समयदेखि खानेपानीको समस्या भोग्दै आएका छन्, अब झुम्साखोला आयोजना निर्माण भएपछि त्यो समस्या हट्ने छ, यसका लागि सरकार प्रयत्नशील छ,” उहाँले भन्नुभयो ।
मन्त्री यादवले झुम्साखोला खानेपानी आयोजना यथाशीघ्र निर्माण सम्पन्न गरी यहाँका नागरिकलाई शुद्ध अनि सफा पानी खुवाउने सरकारको लक्ष्य रहेको जानकारी पनि गराउनुभयो । उहाँले भन्नुभयो, “आयोजना निर्माणको काम तीव्र गतिमा भइरहेको छ । बुटवलवासीलाई शुद्ध खानेपानी उपलब्ध गराउन सरकार प्रतिबद्ध छ ।” उक्त आयोजनाका विषयमा मङ्गलबार सरोकारवालासँग विस्तृत छलफल तथा अन्तर्क्रिया कार्यक्रम गर्दै उहाँले खानेपानीसम्बन्धी नागरिकका समस्या समाधानका लागि आफू हरहमेसा प्रतिबद्ध रहेको बताउनुभयो ।
खानेपानी संस्थान बुटवलका अनुसार बुटवलमा दैनिक तीन करोड लिटर खानेपानीको माग रहेको छ तर अहिले भने जम्मा दुई करोड २५ लाख लिटर पानी वितरण हुँदै आएको छ । झम्सा परियोजना पूरा भएमा बुटवल उपमहानगरपालिकाका सबै वडामा २४ सै घण्टा शुद्ध खानेपानी उपलब्ध हुने मन्त्री यादवले बताउनुभयो ।