• २० पुस २०८१, शनिबार

बाह्र सय क्विन्टल कोदो निर्यात

blog

बाजुराका गाउँ बस्तीबाट कोदो खरिद गरेर जिल्ला बाहिर ढुवानी गर्दै व्यापारी । तस्बिर : शेरबहादुर सार्की

शेरबहादुर सार्की

बाजुरा, पुस १७ गते । बाजुरामा केही सयम पहिला कतै बिक्री नहुने कोदो देशका विभिन्न ठाउँमा निर्यात हुन थालेको छ । यहाँका किसानले उत्पादन गरेको अर्गानिक कोदो पहिला कतै बिक्री हुँदैनथ्यो । कोदो कतै बिक्री नहुने गरेकोले यहाँका कतिपयले कृषकले आफूलाई खानका लागि मात्र कोदो लगाउने गरेका थिए ।

पछिल्लो समय यहाँका स्थानीय तहले किसानलाई कोदो खेतीमा उत्प्रेरित गर्दै आएपछि अहिले यहाँ कोदो राम्रो उत्पादन हुने गरेको छ । अहिले यहाँ उत्पादन हुने गरेको कोदोलाई देशका विभिन्न ठाउँमा माग हुन थालेको छ । कतिपय व्यापारीले किसानको घरमै पुगेर कोदो खरिद गर्ने गरेका छन् ।

अहिले जिल्लाका विभिन्न बजारमा समेत बिक्री हुने गरेको छ । कोदोको परिकारलाई अहिले स्थानीय तहले पनि विद्यालय तथा अन्य सरकारी संस्थामा खाजाको रुपमा लिने गरेकोले पछिल्लो समय कोदोको निकै माग बढेको छ ।

जिल्ला विभिन्न ठाउँमा मात्र कोदो बिक्री नभई अहिले बाहिरसमेत कोदो बिक्री भएको छ । गत मङ्सिरदेखि पुस २ गते सम्म झण्डै एक हजार दुई सय क्वीन्टल भन्दाबढी कोदो जिल्ला बाहिर निर्यात भएको बुढीगङ्गा नगरपालिका –१० का कृषक भोलाराम जैशीले बताउनुभयो । 

उहाँले भन्नुभयो, “बाजुरादेखि झण्डै बाह्र सय क्विन्टलभन्दा बढी कोदो जिल्ला बाहिर निर्यात भएको छ भने अझै कोदो गाउँदेखि बजारमा आउने क्रम जारी छ । अहिले एक किलोको २५ देखि ४० रुपियाँमा दिने गरेको छ ।”

माथिलो क्षेत्रमा के कती कोदो बिक्री भएको छ । त्यो मलाई थाहा छैन । तल्लो क्षेत्रका बुढीगङ्गा त्रिवेणी खप्तड छेडेदह गाउँपालिकाका विभिन्न गाउँ बस्तीबाट भने बाह्रसय भन्दाबढी कोदो यहाँदेखि बाहिर गएको जैशीले बताउनुभयो ।

बाजुराको हिमाली, जगनाथ, स्वामिकार्तिक, खापर रबुढीनन्दा नगरपालिकामा पनि कोदो राम्रो उत्पादन हुने गर्दछ । यहाँका अधिकाशं ठाउँमा हिउँदको महिना भोकमरी हुने सम्भावना देखिने भएकोले कोदोलाई गाउँमै प्रयोग गर्नै र बाहिर लिन  नदिएको जगनाथ गाउँपालिका कृषि शाखा प्रमुख निवेश कटेलले बताउनुभयो ।

उहाँले भन्नुभयो, “जिल्लाका अन्य ठाउँदेखि कोदो बाहिरिने भएको भएपनि यतादेखि भने कोदो कतै बिक्री भएको छैन । ” जगनाथ गाउँपालिकामा झण्डै दुइ सय हेक्टर जमिनमा चार सय मेट्रिक टन कोदो उत्पादन हुने गरेको कटेलले बताउनुभयो ।

हिमाली, स्वामिकार्तिक, जगनाथ, बुढीनन्दा, बडिमालिका, गौमुल, बुढीगङ्गा, त्रिवेणी र खप्तड छेडेदह लगायतका विभिन्न ठाउँमा कोदो उत्पादन हुने गरेको छ । अहिले देश विभिन्न होटलमा अर्गानिक खानाको माग बढेको छ । यहाँ पनि अगार्निक कोदो उत्पादन हुने गरेकोले पछिल्लो समय कोदो खरिद गर्नका लागि जिल्ला बाहिरबाट व्यापारी गाउँमा पुग्ने गरेका छन् । 

यहाँ दुई लाख ३० हजार ३७ हेक्टर जमिनमध्ये २२ हजार हेक्टर खेतीयोग्य छ । त्यसमा पाँच हजार दुइ सय पचास हेक्टर जमिनमा कोदो खेती गरिन्छ भने छ हजार तीन समय मे.टन कोदो उप्पादन हुन्छ । यसमा १.२ मेट्रिन उत्पादकत्व रहेको जिल्ला कृषि ज्ञान केन्द्र बाजुराका प्रमुख दसिराम साहनीले बताउनुभयो ।