रमेश विश्वकर्मा
गुल्मी, पुस १७ गते । गुल्मीको इस्मा गाउँपालिकाले कृषकहरुको तथ्याङ्क सङ्कलन गर्ने भएको छ । यस गाउँपालिकाका वडा नम्बर–१, ३, ५ र ६ का किसान सूचिकरण कार्यक्रमअन्तर्गत कृषकको तथ्याङ्क सङ्कलन गर्न लागिएको हो । गतवर्ष वडा नम्बर–२ र ४ का कृषकहरुको तथ्याङ्क सङ्कलन गरिएको थियो ।
घरघरमा आउने गणकहरुलाई वास्तविक तथ्याङ्क उपलब्ध गराउन सम्बन्धित वडाका कृषकहरुलाई अनुरोध गरिएको गाउँपालिका अध्यक्ष भगत सिंह खड्काले बताउनुभयो । विशेषगरी तीनै तहको सरकारबाट सञ्चालन हुने कृषि विकासका कार्यक्रमलाई वैज्ञानिक, पारदर्शी र प्रभावकारी बनाउनुका साथै वास्तविक किसान पहिचान गर्ने उद्देश्यले कृषकको तथ्याङ्क सङ्कलन गर्न लागिएको उहाँले बताउनुभयो ।
कृषि अनुदानका कार्यक्रमहरुलाई व्यवस्थित गर्नुका साथै कृषकको मनोबल उच्च बनाउँदै कृषि विकासमा उत्प्रेरित ल्याउन र राष्ट्रिय तथ्याङ्क प्रणालीलाई मजबुत बनाउन गाउँपालिकाले किसान सूचिकरण कार्यक्रम ल्याएको हो । समग्र कृषि विकासलाई कृषि प्रणालीको रुपमा विकास गर्नुका साथै समग्रमा कृषि सुशासन प्रवद्र्धन गर्न यसले विशेष टेवा पु¥याउने अध्यक्ष खड्काले बताउनुभयो ।
कृषकको तथ्याङ्क सङ्कलन कार्यलाई व्यवस्थितसहित प्रभावकारी बनाउनका लागि सम्बन्धित वडा समितिका पदाधिकारी र टोल विकास संस्थाका पदाधिकारीले आउने गणकहरुलाई आवश्यक समन्वय र सहजीकरण गर्नुपर्ने छ । गाउँपालिका भित्रका कृषकको तथ्याङ्क सङ्कलन गर्दा किसानसँग सम्बन्धित आगामी नीति कार्यक्रम बनाउन सहज हुनुका साथै तथ्याङ्क पनि अध्यावधिक हुने उहाँले बताउनुभयो ।
सम्बन्धित वडामा पुग्ने गणकहरुले कृषिसम्बन्धी सम्पूर्ण विवरण सङ्कलन गर्नुका साथै आवश्यक परिचय खुल्ने गरी सम्बन्धित कृषकबाट सम्पूर्ण विवरण तथ्याङ्क टिपोट गरिने कृषि प्राविधिक सहायक कमल रिमालले बताउनुभयो । उहाँका अनुसार कृषकको खेतीयोग्य जमिन, सिचाइ सुविधा, पशुपालन, जग्गा भाडामा लिए नलिएको लगायतका विषयमा जानकारी ल्याइनेछ ।
कृषकको तथ्याङ्क सङ्कलन कार्यले किसानको वर्गीकरणसँगै किसान परिचयपत्र वितरणमा सहयोग पुग्ने बताइएको छ । कृषकको तथ्याङ्क सङ्कलनका लागि गाउपालिकाले ११ जना गणक परिचालन गर्ने भएको छ । माघ मसान्तसम्ममा तथ्याङ्क सङ्कलन गरिसक्नुपर्ने गाउँपालिकाले योजना बनाएको कृषि प्राविधिक सहायक रिमालले बताउनुभयो ।