रमेश विश्वकर्मा
गुल्मी, पुस १६ गते । गुल्मी कविशिरोमणि लेखनाथ पौड्यालको १४१ औँ जन्मजयन्ती मनाइएको छ । तम्घासस्थित किरण पुस्तकालयको आयोजनामा एक समारोहका बिच उहाँको जन्मजयन्ती मनाइएको हो ।
जन्मजयन्ती समारोहमा यहाँका कवि तथा साहित्यकार र शैक्षिक व्यक्तिहरुको बाक्लो उपस्थिति थियो । जन्मजयन्ती अवसरमा स्वकीय रचना कविहरु रामप्रसाद पन्थी र नमोनारायण पन्थीले कबिता वाचन गर्नुभयो । साहित्यकार भुवनप्रसाद अर्यालले कवि शिरोमणि लेखनाथ पौड्यालको ‘तरुण तपस्वी’ का केही अंशहरु वाचन गर्नुभयो । कविशिरोमणि लेखनाथ पौड्यालले साहित्य क्षेत्रमा पुर्याउनुभएको योगदानका बारेमा चर्चा गरिएको थियो ।
कार्यक्रममा शिक्षा विकास तथा समन्वय एकाइका प्रमुख थानेश्वर घिमिरेले कविशिरोमणि पौड्यालका कृतिहरु युगौंयुगसम्म सान्दर्भिक हुने बताउनुभयो । किरण पुस्तकालयका अध्यक्ष शशि पन्थीले कविशिरोमणि पौड्यालको साहित्यिक कृतिका बारेमा जानकारी गराउनुभयो। पछिल्लो समय पठन संस्कृति कम भएको हुँदा तीनै तहका सरकारले कविहरुलाई प्रोत्साहन गर्ने खालका कार्यक्रम ल्याउन जरुरी रहेको बताउनुभयो ।
साहित्यकार दीन पन्थीले कविशिरोमणि लेखनाथ पौड्यालले नेपाली साहित्यको विकासमा पुर्याउनुभएको योगदान तथा कला र कृतिका विषयमा प्रष्ट पार्दै कविशिरोमणिलाई युगान्तकारी कवि, दार्शनिक, नेपाली भाषा साहित्यलाई परिस्कृत गर्ने कविका रुपमा चित्रण गर्नुभयो । रेसुङ्गा बहुमुखी क्याम्पसका सहायक क्याम्पस प्रमुख गुणानिधि शर्माले कविशिरोमणि लेखनाथ पौड्यालको कृतिहरु मानवतावादी भएको भन्दै नैतिक शिक्षाबाट प्रेरितसँगै सबैलाई कर्मशील बनाउने भएको बताउनुभयो ।
किरण पुस्तकालयले नियमित वार्षिक कार्यक्रम अन्तर्गत भानुजयन्ती, भदौमा राष्ट्रिय पुस्तकालय दिवस, कुसे औंसी मोतीजयन्ती तथा जानकी साहित्य पुरस्कार वितरण, देवकोटा जयन्ती तथा किरण पुस्तकालयको वार्षिकोत्सव मनाउँदै आएको पुस्तकालय व्यवस्थापन समितिका सदस्य गोपाल पन्थीले बताउनुभयो ।