• १८ पुस २०८१, बिहिबार

धार्मिक महोत्सवको तयारी पूरा

blog

इमानसिं राना 

रामपुर (पाल्पा), पुस १५ गते । जिल्लाको रामपुर नगरपालिका –७, किसानबारीस्थित शहीद बहुमुखी क्याम्पसमा मङ्गलबारदेखि हुन गइरहेको महायज्ञको तयारी पूरा भएको छ । 

क्याम्पसमा छात्रावास निर्माण, सङ्काय थप र सिपमूलक शिक्षा सञ्चालनका लागि पुस २३ सम्म हुन गइरहेको धनधान्याञ्चल श्रीमद्भागवत् ज्ञान महायज्ञ एवम् धार्मिक महोत्सवको तयारी सकिएको मूल आयोजक समितिले जनाएको छ । 

क्याम्पस परिसरमा हुने महायज्ञको सम्पूर्ण तयारी पूरा भएको मूल आयोजक समितिका अध्यक्ष नेत्रप्रसाद भट्टराईले बताउनुभयो । टाढाबाट आउने विद्यार्थीका लागि छात्रावास निर्माण गर्न, व्यावहारिक शिक्षाको प्रारम्भसँगै आवश्यक सङ्काय थप गरी क्याम्पसलाई शैक्षिक हबको रूपमा विकास गर्न महायज्ञ सञ्चालन गर्न लागिएको जानकारी दिनुभयो । 

यसअघि अन्य स्थानमा धनधान्याञ्चल ज्ञान महायज्ञ हुँदै आए पनि संस्कार र संस्कृति प्रवर्ध्दनका लागि यस पटक धार्मिक महोत्सवलाई समेत समावेश गरिएको जनाएको छ । भट्टराईले भन्नुभयो, “महायज्ञ कथा प्रवचन मात्र नभई २१ वटा विधामा पूजा समेत हुनेछ । सोहीअनुसार व्यवस्थापन गरिएको छ ।” 

क्याम्पसमा विभिन्न धर्म र समुदायका विद्यार्थी अध्ययन गर्न आउने भएकाले सबै धर्म र समुदायका व्यक्तित्वहरूको सहभागितामा यज्ञ सञ्चालन गर्न लागिएको बताउनुभयो । यज्ञ व्यवस्थापनका लागि ५०१ सदस्यीय मूल आयोजक समिति र ३० वटा विभिन्न उपसमिति गठन गरिएको छ ।

महायज्ञ सुरु हुनु अघिदेखि धमाधम सहयोगको घोषणा हुन थालेकाले आयोजकलाई थप आशावादी बनाएको छ  । महायज्ञबाट तीन करोडदेखि पाँच करोड रुपियाँसम्म दान सङ्कलन हुने अपेक्षा गरिएको मूल आयोजक समितिले जनाएको छ । ‘शहीद क्याम्पसको चाहना, सङ्काय थप, सिपमुलक शिक्षा र छात्रवासको स्थापना’ भन्ने नारासाथ हुन गइरहेको महायज्ञमा वाचन प्रवीण पण्डित दीनबन्धु पोखरेलबाट प्रवचन हुने क्याम्पस प्रमुख मुरारीप्रसाद काफ्लेले बताउनुभयो ।

महायज्ञ समुदघाटनको अवसरमा मङ्गलबार बिहान ९ बजे शोभा कलशयात्रासहित नगर परिक्रमा हुनेछ । दिउँसो साढे १२ बजे उपप्रधान तथा सहरी विकासमन्त्री प्रकाशमान सिंहमार्फत महायज्ञको उदघाटन गर्ने कार्यक्रम रहेको काफ्लेले जानकारी दिनुभयो । 

क्याम्पसमा हाल शिक्षा र व्यवस्थापन सङ्कायमा कक्षा ११ देखि स्नातकोत्तरसम्म अध्यापन हुँदैआएको छ । समुदायस्तरबाट सञ्चालित क्याम्पसमा पाल्पा, स्याङ्जा, तनहुँ, नवलपुरका करिब एक हजार एक सय विद्यार्थी क्याम्पसमा अध्ययनरत रहेका छन् । त्रिभुवन विश्वविद्यालयबाट सम्बन्धन प्राप्त क्याम्पस २०४८ सालमा स्थापना भएको क्याम्पसमा ५० जना प्राध्यापक तथा कर्मचारी कार्यरत हुनुहुन्छ ।