उच्च शिक्षा अध्ययन गरेका विद्यार्थीका निम्ति कतिपय दिन अति महत्वपूर्ण हुने गर्छन् । खास गरी कुनै तह अध्ययन सम्पन्न गरेपछि विश्वविद्यालयले आयोजना गर्ने विशेष समारोहमा विद्यार्थीलाई दीक्षित भएको सप्रमाण तथा सप्रमाणपत्र सम्मान दिइन्छ । यस्तो समारोहमा विद्यार्थीका जीवनमा धेरै पटक आउँदैन । विशेष अवसरमा मात्र यस्तो समारोह आयोजना गरिन्छ । विद्यार्थीको मेहनत, परिश्रम र लगनले प्राप्त हुने शैक्षिक योग्यता प्राप्त गर्ने यस्तो समारोहको प्रभाव आजीवन परिरहन्छ । मानिसले यसरी आर्जन गरेको दीक्षा जीवनमा अनेक तवरले प्रयोगमा ल्याउँछन् । समाज र देशलाई योगदान दिन्छन् । दीक्षित समारोहमा विशेष पोसाकसहितको तस्बिर भने पुस्ता पुस्तासम्म सम्झने निशान बन्छ । नेपालको सबैभन्दा पुरानो उच्च शैक्षिक तथा प्राज्ञिक संस्था त्रिभुवन विश्वविद्यालय (त्रिवि) ले शनिबार यस्तै दीक्षान्त समारोह आयोजना सम्पन्न गरेको छ । अति धेरै विद्यार्थीका कारण राजधानीको दशरथ रङ्गशालामा आयोजना गरिएको दीक्षान्त तिसौँ हजारको सहभागिता थियो । विद्यार्थी, तिनका अभिभावक र आफन्तसमेतको यस्तो समारोह यही रूपमा भने अन्तिम हुने भएको छ ।
विश्वकै विश्वविद्यालयमा त्रिवि केही विषयमा विशेष छ । खास गरी एकै विश्वविद्यालयमा अति धेरै विद्यार्थी अध्ययन गर्ने यो विश्वकै सीमित विश्वविद्यालयमा पर्छ । देशभरि सञ्जाल भएको र अति धेरै विद्यार्थी अध्ययन गर्ने विश्वविद्यालयका मात्र होइन, यसका सङ्काय पनि विविध छन् । कुल नौ वटा सङ्कायमा हजारौँ हजार विद्यार्थी छन् । त्रिवि स्थापनाको ६५ वर्षको अवधिमा शनिबार आयोजना गरिएको ५० औँ दीक्षान्त समारोहमा इतिहासकै सबैभन्दा धेरै अर्थात् १४ हजार ३०८ जना विद्यार्थी सहभागी थिए । दीक्षित भएका छोराछोरीसँग खुसियाली साट्न उपस्थित अभिभावक, दीक्षित विद्यार्थीका श्रीमान्, श्रीमती, छोराछोरीलगायत अन्य सदस्यसमेत गणना गर्दा ३० हजारको हाराहारीमा उपस्थिति रहेको अनुमान छ । समारोहका दिन बिहानदेखि रङ्गशाला रहेको स्थानवरपरका सडकमा बाक्लो सवारी चाप भयो । व्यवस्थापन अति कठिन नै भयो ।
एकै पटक दीक्षान्त समारोह गर्दा आइपरेको समस्यालाई त्रिविले अब समाधान निकाल्ने भएको छ । शनिबार नै स्वर्ण दीक्षान्त समारोहमा सहभागीलाई सम्बोधन गर्दै त्रिवि परीक्षा नियन्त्रण कार्यालयका परीक्षा नियन्त्रक पुष्पराज जोशीले नयाँ घोषणा गर्नुभयो । उहाँका अनुसार अब यो आकारको दीक्षान्त समारोह त्रिविमा हुने छैन । विगतमा यति धेरैको उपस्थितिमा भएको छैन । एकै पटक धेरै विद्यार्थी र अभिभावकलाई उपस्थित गराएर दीक्षान्त समारोह सम्पन्न गराउँदै आएको त्रिविले शैली बदल्ने भएको छ । त्यो शैलीको टुङ्गो त लागिसकेको छैन तर विकल्पसहित नयाँ प्रस्तावमा छलफल गरी निष्कर्ष निकालिने भएको छ ।
दीक्षित हुनेको अति धेरै सङ्ख्याका कारण एक पटक दीक्षान्त आयोजना गर्न समस्याका कारण आउँदो दिनका निम्ति दुई मुख्य विकल्प अगाडि सारिएको छ । परीक्षा नियन्त्रक जोशीका अनुसार पहिलो विकल्पमा छ/छ महिनाको अवधिमा दीक्षान्त समारोह हुने छ । त्यसो गर्न व्यावहारिक रूपमा सहज हुने देखिए पनि अर्को विकल्प पनि अगाडि सारिएको छ । त्यस अनुसार सङ्काय अनुसार फरक फरक मितिमा दीक्षान्त समारोह आयोजना गरिने छ । त्रिवि अन्तर्गत नौ वटा सङ्काय भएकाले वर्षभरिमा नौ पटक दीक्षान्त समारोह आयोजना गर्नुपर्ने छ । दीक्षान्त समारोहको शैली बदल्ने विषयमा उपकुलपतिको अध्यक्षतामा रहने विश्वविद्यालयको कार्यकारी परिषद्ले यसअघि नै निर्णय गरिसकेको छ तर सङ्काय अनुसार दीक्षान्त गराउँदा पनि नौ वटा सङ्कायका लागि नौ पटक नै गराउनुपर्ने छ । यसमा स्रोत र समयको अभाव हुने सक्ने भन्दै छ÷छ महिनाको अवधिमा दीक्षान्त समारोह गर्दा उपयुक्त हुने धेरैको सुझाव भए पनि यसमा निर्णय भने भइसकेको छैन ।
त्रिविमा अध्ययन गर्ने सबै विद्यार्थी दीक्षान्तमा आउने विगतमा कमै प्रचलन थियो । काठमाडौँमै दीक्षान्त समारोह हुने हुँदा बाहिर रहेका विद्यार्थीलाई दीक्षान्तमा सहभागी हुनु सहज पनि थिएन तर यताका वर्षमा भने हरेक वर्ष दीक्षान्त समारोहमा सहभागी हुने विद्यार्थीको आकर्षण बढिरहेको छ । अब एकै पटक धेरै व्यक्तिलाई भेला गराएर दीक्षान्त समारोह गर्न कठिनसमेत हुने गरेको सम्बद्ध अधिकारीको अनुभव छ । अरू धेरै विश्वविद्यालय खुले पनि नेपालमा अझै पनि त्रिविमै बढी आकर्षण छ । सस्तो शुल्क, पूर्वाधार आदिका कारण उच्च शिक्षाको मेरुदण्डकै रूपमा त्रिविले योगदान पुर्याइरहेको छ । दीक्षान्त भनेको विशेष समारोह नै हो र यसमा महìव कहिल्यै कम हुँदैन । नयाँ विकल्प झनै विशेष हुने अपेक्षा गर्न सकिन्छ ।