गोरखापत्र समाचारदाता
काठमाडौँ, पुस १३ गते । कृषि तथा पशुपन्छी विकासमन्त्री रामनाथ अधिकारीले गुणस्तरीय बिउबिजनमा कृषकको पहुँच बढाउनु आवश्यक रहेको बताउनुभएको छ । नेपाल बिउ व्यवसायी सङ्घको २६ औँ साधरण सभा तथा अधिवेशनलाई शुक्रबार सम्बोधन गर्दै मन्त्री अधिकारीले कृषि क्षेत्रको आधार बिउ भएकाले किसानलाई समयमै गुणस्तरीय बिउ उपलब्ध गराउन व्यवसायीले ध्यान दिन आवश्यक रहेको बताउनुभएको हो ।
मन्त्री अधिकारीले आमनागरिकको घर खेतसम्म बिउ पुग्ने र यसमा समस्या देखिँदा खाद्य सङ्कटसमेत आउन सक्ने भएकाले बिउबिजनमा काम गर्नेहरू बढी संवेदनशील हुन जरुरी रहेको बताउनुभयो ।
“उन्नत जातका बिउको प्रयोगले उत्पादकत्व बढाउन मात्र होइन, किसानको आयस्तरमा पनि उल्लेखनीय वृद्धि ल्याउन सक्छ र देशको खाद्य सुरक्षालाई सुनिश्चित गर्न सक्छ,” मन्त्री अधिकारीले भन्नुभयो, “उचित समयमा उपलब्ध हुने गुणस्तरीय बिउबिजनले कृषिको उत्पादन १५ देखि २० प्रतिशत बढाउँछ ।”
बिउबिजनका कारण कृषकको आर्थिक हानी हुने अवस्थामा कृषकलाई क्षतिपूर्ति प्रदान गर्न राज्य निर्मम हुने उहाँको भनाइ छ ।
गुणस्तरीय बिउबिजनमा कृषकको पहुँच बढाउन सरकारले कानुनी, संरचनागत तथा संस्थागत प्रबन्ध विगतदेखि नै गर्दै आइरहेको भन्दै मन्त्री अधिकारीले बिउबिजन ऐन, २०४५ तथा बिउबिजन नियमावली, २०८१ मा भएका नयाँ व्यवस्था निजी क्षेत्रमैत्री रहेको विचार व्यक्त गर्नुभयो ।