• ६ जेठ २०८१, आइतबार

ओखलढुङ्गामा गम्भीर घाइते अवस्थामा बालिका फेला, बलात्कारको आशङ्का

blog

सांकेतिक फाेटाे

शेरबहादुर राई 

ओखलढुङ्गा, जेठ ८ गते । ओखलढुङ्गाको मानेभञ्ज्याङ् गाउँपालिकामा आइतबार विहान एक बालिका गम्भीर घाइते अवस्थामा फेला परेका छन् । मानेभञ्ज्याङ् गाउँपालिका–५ धिम्लेमा स्थानीयले गम्भीर घाइते र अचेत अवस्थामा बालिकालाई फेला पारेका हुन् । 

प्रहरी र स्थानीयले बालिकाको उद्धार गरी उपचारका लागि ओखलढुङ्गा सामुदायिक अस्पताल पठाएका छन् । बालिका मानेभञ्ज्याङ्ग–५ धिम्लेकै रहेको खुलेको छ । करिब १८ वर्षीय बालिका बेलुका परिवारसँगै खाना खाएर सुतेका थिइन । विहान घरमा नभएपछि परिवारले उहाँको खोजी गर्दा गाउँ नजिकैको खोल्सामा उहाँलाई अचेत अवस्थामा स्थानीयले फेला पारेका थिए । 

बालिकाको बलात्कारपछि मरणासन्न हुने गरी कुटपिट भएको हुनसक्ने प्रहरीको प्रारम्भिक अनसन्धानबाट देखिएको ओखलढुङ्गा प्रहरी प्रमुख प्रहरी नायव उपरीक्षक सुकदेव खनालले बताउनुभयो । बालिकाको शरीरमा लागेको गम्भीर चोट, फाटेको कपडालगायत घटनाको प्रकृति हेर्दा बालिकालाई सामूहिक बलात्कार गरी पोल खुल्ले डरले मरणासन्न हुनेगरी कुटपिट गरी मरेको ठानेर फालेको हुनसक्ने स्थानीनयले बताएका छन् । 

बालिकाको स्वास्थ्य अवस्था गम्भीर रहेकाले थप उपचारका लागि हेलिकोप्टरमार्फत् काठमाडौं पठाउने तयारी भइरहेको प्रहरी नायब उपरीक्षक खनालले जानकारी दिनुभयो । बालिका बलात्कृत भएको हो वा होइन भन्ने विषयमा स्वास्थ्य परीक्षणको रिपोर्ट नआइसकेकाले केही भन्न नसकिने जिल्ला प्रहरी कार्यालय ओखलढुङ्गाका प्रमुख खनालको भनाइ छ । घटनाको विषयमा थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।