गोरखापत्र समाचारदाता
काठमाडौँ, पुस १२ गते । चिनियाँ वायु सेवा कम्पनी सिचुवान एयरलाइन्सले पोखरा क्षेत्रीय अन्तर्राष्ट्रिय विमानस्थलमा चौथो चार्टर उडान गरेको छ ।
बिहीबार बिहान चीनको छेन्दुबाट चालक दलका सदस्यसहित १३९ जना बोकेर पोखरा अवतरण गरेको थियो । पोखराबाट चालक दलसहित १२६ यात्रु बाकेर त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरण गरेको हो ।
नेपाल नागरिक उड्डयन प्राधिकरण पोखराका प्रवक्ता जसोधा सुवेदीले भन्नुभयो, “अङ्ग्रेजी नयाँ वर्ष २०२५ को अवसर पारेर पुस १४ र १५ मा फेवातालमा आयोजना हुने ड्र्यागन बोट रेसमा सहभागी हुने खेलाडी र पत्रकारसहितका चिनियाँ टोली बोकेर सिचुवानले चार्टर उडान गरेको छ । सिचुवानले बिहीबार चीनको छेङ्दुबाट चौथो र छेङ्दु–पोखरा–काठमाडौँ पहिलो पटक उडान गरेको हो ।”
नियमित अन्तर्राष्ट्रिय उडान हुन नसकेको यो विमानस्थल सञ्चालनमा आएको यही पुस १७ गते दुई वर्ष पूरा हुँदै छ । पछिल्लो दुई वर्षको अवधिमा हालसम्म चीन, भुटान र भारतबाट ११ वटा मात्रै चार्टर उडान भएको उहाँले जानकारी दिनुभयो ।
सिचुवानले पोखराबाट १२६ यात्रुसहित काठमाडौँमा अवतरण गरेसँगै पोखरामा नियमित उडान गर्न कुनै बाधा व्यवधान रहेको नेपाल नागरिक उड्डयन प्राधिकरणले जनाएको छ ।
प्राधिकरणका महानिर्देशक प्रदीप अधिकारीले यात्रुसहितको जहाज पोखराबाट काठमाडौँ अवतरण गरेसँगै पोखरा विमानस्थल प्राविधिक रूपमा अब्बल साबित रहेको बताउनुभयो । विमानस्थल सञ्चालनका लागि सम्पूर्ण रूपमा सेवा सुविधा तयार रहेको उहाँको भनाइ छ ।