• १४ वैशाख २०८१, शुक्रबार

उम्दा गीतकार विश्वम्भर

blog

सुकृत नेपाल

काठमाडौँ, जेठ ८ गते । डा. विश्वम्भर प्याकु-यालको परिचय अर्थविदका रूपमा मात्र चिनाउँदा अन्याय नै हुन्छ । उहाँ साहित्यकार, कवि तथा गीतकर पनि हुनुहुन्छ । बर्दियाको सदरमुकाम गुलरियामा जन्मिनुभएको प्याकु-यालले कक्षा ७ सम्म त्यहीँ अध्यापन गर्नुभयो । त्यसपछि काठमाडौँ आएर आफ्नो काकाकहाँ बसेर थप पढाइलाई निरन्तरता दिनुभयो ।

स्कुल पढ्दादेखि नै साहित्यमा रुचि राख्ने प्याकु-याल आफूहरूले साहित्यिक पत्रिका पनि निकाल्ने गरेको स्मरण गर्नुहुन्छ । “आफैँ–आफैँले साहित्य रचना गरेर कसैले कथा लेख्ने कसैले कविता लेख्ने जिम्मा हामीले पाएका थियौँ । मैले स्कुल पढ्दादेखि नै कविता लेख्न सुरु गरेको थिएँ तर ती कविताहरू बाहिर प्रकाशित भएनन्,” उहाँले भन्नुभयो । 

उहाँको २०२१–२२ सालमा आरती नामक म्यागजिनमा पहिलो कथा छापिएको थियो । त्यसपछि फाटफुट कथाहरू आउन थाले र गोरखापत्रको शनिबारीय अङ्कमा पनि उहाँका कथाहरू निरन्तर पाठकले पढ्न पाउने भए । वि.सं. २०२८ सालमा उहाँको आधुनिक कथाको सङ्कलन ‘इन्द्रेणीको गुम्बजभित्र’ प्रकाशित भएको थियो । यसपछि उहाँको साहित्यका अन्य विधाभन्दा पनि गीत लेखनतिर झुकाव बढ्न थाल्यो । प्याकु-यालले पढाउनुभएका विद्यार्थी राष्ट्रका गभर्नर, अर्थमन्त्रीदेखि मन्त्रीसमेत भइसकेका छन् । राजेश हमाल, शम्भुजित बाँस्कोटा, दीपक खरेललगायत कैयौँ सेलिब्रेटीलाई उहाँले पढाउनुभएको हो । “गुरु विद्यार्थीका रूपमा चिनिए पनि अहिले धेरैसँग साथीको सम्बन्ध छ,” उहाँ स्मरण गर्नुहुन्छ । 

त्रिभुवन विश्वविद्यालयमा प्रध्यायापन सुरु गरिसकेपछि केही वर्ष गिती कथा लेखेको उहाँ सम्झिनुहुन्छ । बिहीबारको दिन बेलुका पौने आठ बजे गीती कथा प्रसारण हुन्थ्यो । त्यो समय रेडियो नेपालमा केही लेख्यो भने २० रुपियाँ पाइने चलन थियो । यसमा शिवशङ्कर, नातिकाजीले गीत लेख्न हौसला दिइरहने उहाँ आज पनि सम्झनुहुन्छ । उहाँहरूको हौसलाले प्याकु-यालले त्यो समय एउटा गीत पनि लेख्नुभएको थियो । उहाँको २०३० सालतिर गीत रेकर्ड भएको थियो । निर्मला श्रेष्ठको आवाज र शिवशङ्करको सङ्गीतमा गीत तयार भएको थियो । नेत्रविनोद श्रेष्ठले प्याकु-यालको छवटा गीत गाएका थिए ।

उनको ‘तिमीले भनेका सारा देव छोएर’ निकै लोकप्रिय मानिन्छ भने स्वरसम्राट नारायण गोपालबाहेक गोपाल योञ्जन, दीप श्रेष्ठ, प्रेमध्वज प्रधानलगायत कैयौँ लोकप्रिय गायक र सङ्गीतकारसँग पनि उहाँले सहकार्य गर्नुभएको थियो ।

“सबैभन्दा विवाद नहुने क्षेत्र मलाई साहित्य हो भन्ने लागेको थियो, मेरो झुकाव पनि यतै थियो, स्कुल तहमा हुँदा कविताहरू लेख्ने गर्थें,” प्याकु-याल सम्झनुहुन्छ, “पछि भने पढाइ एकातिर अनि रुचि अर्कोतिर हुँदै गयो, साहित्यसँग दूरी बढ्यो ।” उनको ‘तिमीले भनेका सारा देव छोएर’ निकै लोकप्रिय मानिन्छ भने स्वरसम्राट नारायण गोपालबाहेक गोपाल योञ्जन दीप श्रेष्ठ, प्रेमध्वज प्रधानलगायत कैयौँ लोकप्रिय गायक र सङ्गीतकारसँग पनि उहाँले सहकार्य गर्नुभएको थियो । साहित्य क्षेत्रमा पनि केशवराज पिँडालीदेखि, भैरव अर्यालसम्म उहाँको सङ्गत थियो । सङ्गतले उहाँलाई कथाकार, कविदेखि गीतकार बनायो । 

साहित्यसँगको सङ्गत बिस्तारै पातलो हुँदै गए पनि प्याकु-यालको मनमा भने साहित्यप्रतिको झुकाव उत्तिकै छ । त्यो बेलाको साहित्य र सङ्गीतको बजार र अहिलेको बजारमा उहाँले धेरै भिन्नता देख्नुहुन्छ । प्याकु¥याल सुनाउनुहुन्छ, “समाज परिवर्तन भएको छ, हामीले त्यो परिवर्तनलाई स्वीकार गर्न सक्नुपर्छ ।” हुन पनि केही दशकअघि नेपालमा सुगम सङ्गीतको भयङ्कर ‘क्रेज’ थियो ।

नेपालमा गीतको गोरेटो बस्दै गर्दा ‘घुम्तीमा नआऊ है’, ‘ए कान्छा ठट्टै’मा जस्ता गीत आउनु मानिसका लागि आश्चर्यको कुरा हुन्थ्यो । “त्यो बेला नेपालजस्तो मुलुकमा मनोरन्जनको अरू माध्यम पनि त थिएन,” उहाँ सम्झनुहुन्छ । त्यतिबेलाको समय यस्तो थियो कि, घरमा टेप रेकर्डर नहुँदा क्यासेट लगेर रेडियो नेपालको स्टुडियोमा सुन्नुपर्ने अवस्था थियो । फेरि अर्कातिर सुगम सङ्गीतको यस्तो क्रेज बनेको थियो कि सुगम गायकलाई क्लासिकल गीत मन पर्दैनथ्यो ।

उहाँ सम्झनुहुन्छ, “हामी आफैँ पनि क्लासिकल सङ्गीत सुन्दैनथ्यौँ, क्लासिक सङ्गीतको शक्ति नै थाहा थिएन ।” अहिलेको पुस्तासँग भने पर्याप्त विकल्प छ । प्रविधिले यस्तो सुविधा ल्याइदिएको छ कि, चाहेको गीत एकैछिनमा सुन्न सकिन्छ । “अब कथा र कविता लेख्न त छोडियो तर समय हुँदा गीत लेख्न मन लाग्छ, ती गीतमा पनि कथाको आकार दिन मन लाग्छ,” बहुआयामिक व्यक्तित्व बनाएका प्याकु-यालले सुनाउनुभयो “तर, अहिले त समय यसरी फेरिएको छ, अहिलेका गायकसँग सङ्गत छैन, केही गीत त लेखेको छु तर अहिलेको पुस्तासँग म नजिक छैन, नारायण गोपाललाई जस्तो लौ, यो गीत गाइदेऊ भन्न कहाँ मिल्छ त ?”