• ११ पुस २०८१, बिहिबार

धरहरामा उठ्यो अन्ठाउन्न लाख

blog

गोरखापत्र समाचारदाता

काठमाडौँ, पुस ११ गते । सशुल्क सञ्चालन सुरु गरिएको एक महिनामै धरहराको टिकट बिक्रीबाट करिब ५८ लाख रुपियाँ राजस्व सङ्कलन भएको छ । भूकम्पले भत्किएको धरहरा पुनर्निर्माण गरिएपछि गत मङ्सिर ९ देखि सर्वसाधारणलाई खुला गरिएको थियो । 

विशिष्ट संरचना सञ्चालन तथा व्यवस्थापन विकास समिति (गठन) आदेश, २०८१ बमोजिम धरहरा सशुल्क सञ्चालन गरिएको हो । सहरी विकास मन्त्रालय अन्तर्गतको केन्द्रीय आयोजना कार्यान्वयन एकाइ (भवन तथा आवास) का निर्देशक प्रकाश अर्यालका अनुसार टिकट बिक्रीबाट ५७ लाख ८५ हजार रुपियाँ राजस्व सङ्कलन भएको छ । उहाँका अनुसार ३२ हजार मानिसले धरहरा चढ्दा उक्त रकम सङ्कलन भएको हो । 

उहाँले टिकट बिक्रीबाट सङ्कलन भएको रकम हरेक दिन सोझै सरकारको राजस्वमा जम्मा गर्ने गरिएको बताउनुभयो । टिकट बिक्रीबाट सङ्कलित रकमबाट कुनै शीर्षकमा खर्च कटाउने नगरिएको उहाँले स्पष्ट पार्नुभयो । धरहरा चढ्न प्रतिव्यक्ति दुई सय रुपियाँ शुल्क तोकिएको छ । विद्यार्थी, ज्येष्ठ नागरिक, बालबालिका, अपाङ्गता भएका व्यक्तिले ५० प्रतिशत छुट पाउँछन् । 

धरहरा चढ्न विदेशी पर्यटकसमेत आउने गरेका अर्यालले जानकारी दिनुभयो । सार्क मुलुकबाट आउने पर्यटकलाई प्रतिव्यक्ति पाँच सय र सार्कबाहेकका मुलुकबाट आउने पर्यटकलाई प्रतिव्यक्ति एक हजार रुपियाँ शुल्क तोकिएको छ । 

धरहराको बेसमेन्टमा सवारीसाधनको पार्किङबापत शुल्क लिने भनिए पनि अहिलेसम्म नलिएको उहाँले बताउनुभयो । अहिलेसम्म सर्वसाधारणले दुईपाङ्ग्रे र चारपाङ्ग्रे सवारीसाधन निःशुल्क पार्किङ सेवा लिँदै आएका छन् ।