तम्घास समाचारदाता
तम्घास, पुस १० गते । गुल्मीदरबार गाउँपालिकाले गाउँपालिकाबाट सम्पादन हुने कार्य वडाबाटै गर्न थालेको छ । पुस १ देखि ८ गतेसम्म पालिकाभित्रका सात वटै वडामा सञ्चालन गरिएको एकीकृत घुम्ती शिविरमा पालिकाबाट दिइने सेवालाई वडाबाटै प्रवाह गरिएको गाउँपालिकाले जनाएको छ ।
योजना सम्झौतादेखि विशेषज्ञ डाक्टरद्वारा स्वास्थ्य परीक्षणका कार्य शिविरमार्फत गरिएको प्रमुख प्रशासकीय अधिकृत भेषराज घिमिरेले जानकारी दिनुभयो । शिविरमा ७९ योजनाको सम्झौता, विशेषज्ञ डाक्टरबाट ५६२ जनाको स्वास्थ्य परीक्षण, १४ गर्भवती महिलाको भिडियो एक्सरे, ३४९ जनाको सुगर परीक्षण, १४४ जनाको पिसाबबाट मिर्गौला परीक्षण, ५६२ जनाको रक्तचाप परीक्षण गरिएको घिमिरेले बताउनुभयो ।
त्यसै गरी १५१ जनालाई पशुपन्छी परामर्श, १०८ जनालाई कृषिसम्बन्धी परामर्श, ३७ जनालाई ज्येष्ठ नागरिक परिचयपत्र वितरण, २२१ व्यवसायसम्बन्धी कार्य, छ जनालाई अपाङ्गता परिचयपत्र वितरण, ७६ जना ज्येष्ठ नागरिक र ४४ जना दलित ज्येष्ठ नागरिकलाई सम्मान गरिएको गाउँपालिकाले जनाएको छ । शिविरबाट दुई लाख ४४ हजार ९२५ रुपियाँ राजस्व सङ्कलन भएको सूचना अधिकारी नवराज घिमिरेले जानकारी दिनुभयो ।
पालिकाभित्रका नगरिकलाई सहज रूपमा घरदैलोमै सेवा प्रवाह गर्नका लागि शिविरको आयोजना गरिएको गाउँपालिकाका अध्यक्ष सरोजकुमार थापाले बताउनुभयो । सेवाग्राहीलाई उक्त सेवा लिन गाउँपालिकामा आउँदा समय र पैसा खर्च हुने भएकाले दुवै बचत हुनुका साथै सहज रूपमा सेवा पाएको उहाँको दाबी छ ।
चन्द्रकोट गाउँपालिकाले पनि सहज रूपमा नागरिकलाई सेवा प्रदान गर्न भन्दै एकीकृत घुम्ती शिविर सञ्चालन गरेको छ । गाउँपालिकाका अध्यक्ष युवराज केसीले स्थानीय सरकारको अनुभूति नागरिकलाई दिनका लागि वडास्तरबाटै सेवा प्रवाह गरिएको बताउनुभयो । वडा नम्बर ८ बाट सुरु गरिएको कार्यलाई सबै वडामा सञ्चालन गर्ने उहाँको भनाइ छ । पहिलो दिनमै वडा नम्बर ८ बाट दुई सय नागरिकले सेवा लिएको वडा सचिव लक्ष्मी अर्यालले बताउनुभयो ।
नागरिकले घरदैलोबाट सेवा लिन पाउँदा हर्षित भएको र यस्तै कार्यलाई निरन्तरता दिनका लागि स्थानीय सरकारलाई आग्रह गरेका छन् ।