नवलपरासी समाचारदाता
विनयीत्रिवेणी, पुस १० गते । पूर्वी नवलपरासीको त्रिवेणीमा रहेको धार्मिक, ऐतिहासिक र पर्यटकीय स्थल बोकेको गजेन्द्रमोक्ष दिव्यधामको उचित प्रचारप्रसार हुन नसक्दा ओझेलमा पर्दै गएको छ ।
धार्मिक तथा पर्यटकीय गन्तव्यका रूपमा विकास गर्न सकिने धामको उचित प्रचारप्रसार हुन नसक्दा ओझेलमा परेको हो । पूर्वपश्चिम राजमार्ग अन्तर्गत पूर्वी नवलपरासीको दाउन्नेबाट ३४ किलोमिटर दक्षिणमा रहेको यस धामको पूर्वाधार, विकास निर्माण गर्ने हो भने नेपालको महìवपूर्ण पर्यटकीय स्थलका रूपमा स्थापित हुन सक्ने विनयीत्रिवेणी गाउँपालिकाका अध्यक्ष घनश्याम गिरीको भनाइ छ ।
धार्मिक तथा ऐतिहासिक महत्व बोकेको यस क्षेत्रमा प्राचीनकालमा हात्तीको राजा गजेन्द्रको एक हुलसहित नारायणी नदीमा पानी पिउन आएको र पानी पिउने क्रममा नदीमा रहेको गोहीले हात्तीको राजा गजेन्द्रलाई निल्न खोज्दा हात्ती र गोहीबिच युद्ध हुँदा हात्तीको राजाले विष्णु भगवान्लाई पुकार गर्दा विष्णु भगवान् प्रकट भई चक्र प्रहार गरी गोहीको घाँटी छेदन गरी हात्तीलाई बचाएको किंवदन्ती रहेको अध्यक्ष गिरी बताउनुहुन्छ ।
हात्तीले मोक्ष प्राप्त गरेकाले यस क्षेत्र गजेन्द्रमोक्ष दिव्यधामका नामबाट प्रसिद्ध छ । यस धाममा स्नान गर्नाले मनोकामना पूरा हुने विश्वास राखेर नेपाललगायत भारतबाट समेत लाखौँ भक्तजन यस क्षेत्रमा आउने गर्छन् । मुक्तिनाथ पीठाधीश स्वामी कमलनयनाचार्यले गजेन्द्रमोक्ष दिव्यधामको विकासमा धार्मिक प्रवचनदेखि ठुला महायज्ञ गरेर धेरै भौतिक निर्माण गरिसक्नुभएको छ भने यसको प्रचारप्रसार कम हुँदा यसको विकास अझै हुन नसकेको त्रिवेणीका स्थानीय बासिन्दा सुनिल थापाले बताउनुभयो ।
धार्मिक र ऐतिहासिक महत्व बोकेको यो क्षेत्रमा मन्दिर उत्खनन् गर्दा भेटिएका शिला पनि अहिलेसम्म मन्दिर परिसरमा स्पष्ट देख्न सकिन्छन् । सुन्दर बगैँचा, घना जङ्गल, बगेको नारायणी नदी र नदीपारि रहेको चितवन राष्ट्रिय निकुन्जको मनोरम दृश्यले यहाँ आउने जोसुकै पर्यटकको पनि मन लोभ्याउने गरेको स्वामी प्रपन्नाचार्यले बताउनुभयो ।
यस क्षेत्रको विकासका लागि स्थानीयस्तरबाट प्रयास भए पनि केन्द्र र प्रदेश सरकारले खासै चासो नदेखाएको त्रिवेणीका स्थानीय आरपी उपाध्यायले बताउनुभयो । भारतका विभिन्न तीर्थस्थलबाट ल्याइएको शान्ति सर्वसिद्धि कलशमा रहेको जल पनि आकर्षणका रूपमा रहेको छ । यस कलशलाई १०८ पटक परिक्रमा गरेको खण्डमा मनोकामना पूरा हुने स्थानीयको विश्वास रहेको छ । धार्मिक महìव बोकेको यस क्षेत्रलाई सरकारीस्तरबाट सहयोगको जरुरी रहेको बताउँदै यसको विकासका लागि सबैको उत्तिकै सहयोग हुनु जरुरी रहेको त्रिवेणी दुम्कीबास सडक निर्माण समितिका सदस्य अनिल यादवले बताउनुभयो । धार्मिक र ऐतिहासिक महत्व बोकेको यस क्षेत्रको विकास गर्न सकिए मुलुककै महत्वपूर्ण धार्मिक पर्यटकीय स्थलका रूपमा विकास गर्ने सम्भावना रहेको गण्डकी प्रदेशका पूर्वकृषि तथा भूमि व्यवस्थामन्त्री महेन्द्रध्वज जिसी बताउनुहुन्छ ।