बैतडी समाचारदाता
बैतडी, पुस १० गते । दशरथ चन्द नगरपालिकाले १०८ वर्षीय महिलालाई घरमै पुगेर न्यानो सामग्री दिएर सम्मान गरेको छ । ज्येष्ठ नागरिकलाई न्यानो सामग्री वितरण गर्ने क्रममा भेटिएकी १०८ वर्षीय बिर्मादेवी बडूलाई नगर उपप्रमुखले घरमै पुगेर सम्मान गर्नुभएको हो ।
दशरथ चन्द नगरपालिका–७, सुर्कालगाउँकी बिर्मादेवी बडूको जन्ममिति विसं १९७३ मङ्सिर १२ गते भएको उल्लेख छ । उहाँ हिँडडुल गर्न नसक्ने भएकाले घरमै पुगेर न्यानो सामग्री प्रदान गरेको उपप्रमुख कौशिला चन्दले बताउनुभयो । उपप्रमुख दैलोमा पुग्दा बिर्मादेवी बडू एउटा पातलो ब्लाउज लगाएर आगो ताप्दै बसिररहनुभएको थियो । बडूलाई दोसल्ला ओढाएर न्यानो सिरक, तातोपानी खान थर्मस प्रदान गरिएको उहाँले बताउनुभयो ।
सोमबार दशरथ चन्द नगरपालिका–७, सुर्कालगाउँका विभिन्न टोलमा पुगेर नौ जना ज्येष्ठ नागरिकलाई न्यानो सिरक, तातोपानी राख्न थर्मससहित दोसल्ला ओढाएर सम्मान गरिएको हो ।
नगरपालिकाका ११ वटै वडामा ११० जना ज्येष्ठ नागरिकलाई घरदैलोमै पुगेर सम्मानस्वरूप न्यानो सामग्री वितरण भइरहेको उपप्रमुख कौशिला चन्दले जानकारी दिनुभयो । उहाँले भन्नुभयो, “दशरथ चन्द नगरपालिकाका कुनै पनि ज्येष्ठ नागरिक घर छाडेर वृद्धाश्रम जानु परेको छैन । सम्मानपूर्वक घरमै बस्न सक्ने वातावरण बनेको छ । यो सम्मान जोगाइराख्न राज्य र समाजको धारणालाई सकरात्मक बनाउनु जरुरी ठानेको छौँ । कुनै पनि नागरिक वृद्धावस्थामा पुगेपछि मेरो कोही छैन भन्ने अवस्था नहोस् । उहाँहरूको साथमा स्थानीय सरकार छ ।”
नगरपालिकाले ज्येष्ठ नागरिकलाई सम्मान गर्ने मापदण्ड बनाएपछि घरपरिवार र समाजमा पनि ज्येष्ठ नागरिकप्रति सद्भाव बढेको ७ नम्बरका वडाध्यक्ष हरिदत्त बडूले बताउनुभयो । नगरपालिकाले ८५ वर्ष पुगेका ज्येष्ठ नागरिकको नामावली सङ्कलन गर्दा पुरुषभन्दा महिलाको सङ्ख्या बढी भेटिएको महिला, बालबालिका तथा ज्येष्ठ नागरिक शाखाका प्रमुख लीला कँवरले बताउनुभयो ।
उहाँले भन्नुभयो, “ज्येष्ठ नागरिकको आयु हेर्दा दशरथ चन्द नगरपालिकामा पुरुषभन्दा महिलाको आयु बढी देखियो । सामाजिक सुरक्षा भत्ता पाउने पनि आयु अनुसार महिलाकै जनसङ्ख्या बढी छ ।” उपप्रमुखले घरमै आएर न्यानो सामग्री दिँदा आफ्नै छोरी आएर न्यानो लुगा दिएको अनुभूति भएको दशरथ चन्द नगरपालिका–७, सुर्कालका ज्येष्ठ नागरिक नन्दप्रसाद बडूले बताउनुभयो ।