• १० पुस २०८१, बुधबार

बाहिर हिमपात, भित्र परीक्षा

blog

हिमपात भइरहेका बेला कक्षामा बसेर परीक्षा दिँदै बालमन्दिर माविका विद्यार्थी । तस्बिर : राजन रावत

हुम्ला समाचारदाता

हुम्ला, पुस १० गते । हुम्लाका वार्षिक परीक्षा दिने विद्यार्थीलाई बाहिर हिमपात भए पनि कक्षामा परीक्षा दिनुपर्ने बाध्यता रहेको छ । मङ्गलबार बिहानैदेखि हिमपात हुँदा चिसो भए पनि जिल्लाभरका विद्यार्थीलो परीक्षा दिनु परेको छ ।  

यस वर्षको दोस्रो हिमपात हुँदा जिल्लाभरका विद्यार्थीले वार्षिक परीक्षा दिइरहेका सिमकोट गाउँपालिकाका शिक्षा युवा तथा खेलकुद शाखाका नायब सुब्बा कृष्णप्रसाद आचार्यले बताउनुभयो । सिमकोट गाउँपालिकाका २२ वटा विद्यालयमा परीक्षा सञ्चालन भइरहेको अवस्थामा हिमपात भएको हो । 

उहाँले हिमपात भएर तापक्रम माइनसमा झरे पनि परीक्षा दिनैपर्ने बाध्यता विद्यार्थीमा रहेको बताउनुभयो । चिसोका कारण विद्यार्थीले परीक्षामा खोजेको प्रश्नको उत्तर लेख्न नसक्ने अवस्था रहेको उहाँले बताउनुभयो । सिमकोट गाउँपालिकाको मानसरोवर माध्यमिक विद्यालयका प्रधानाध्यापक अमरबहादुर शाहीले चिसो अत्यधिक भए पनि वार्षिक परीक्षा राम्रोसँग सञ्चालन भएको बताउनुभयो । 

बाहिर हिमपात भइरहँदा चिसोले थरथरी काम्दा पनि विद्यार्थीले परीक्षा दिनु परेको उहाँले बताउनुभयो । माथिल्लो कक्षाका विद्यार्थीले केही सहज रूपमा परीक्षा दिए पनि तल्लो कक्षाका विद्यार्थीलाई समस्या भएको उहाँले बताउनुभयो । हाल नाम्खा, सिमकोट, खार्पुनाथ, चङ्खेली गाउँपालिकाका विद्यालयमा वार्षिक परीक्षा सञ्चालन भइरहेको छ । 

दोस्रो हिमपात

यस वर्ष जिल्लामा दोस्रो पटक हिमपात भएको हो । मङ्गलबार बिहानबाट एक्कासि हिमपात सुरु भएका कारण चिसो निकै बढ्दा जनजीवन प्रभावित भएको छ । सदरमुकाम सिमकोटमा तीन इन्चसम्म हिउँ जमेको छ भने उत्तरी नाम्खा गाउँपालिकामा साढे एक फिट हिउँ परेको उहाँले बताउनुभयो । 

जिल्लामा हिमपातसँगै चिसो बढ्दा आवतजावतमा समेत समस्या बनाएको छ । जिल्लाका नाम्खाका लिमी, यारी, हल्जी, तिल, हिल्सा, चालालगायतका गाउँमा हिमपातले जनजीवन बढी प्रभावित बनाएको छ । सदरमुकाम सिमकोटको तापक्रम माइनस चार डिग्री सेल्सियसमा झरेको छ । जिल्लाको दक्षिण भेगमा भने वर्षा भइरहेको जनाइएको छ । हिमपात हुँदा वृद्धवृद्धा, बालबालिकालगायतलाई सुरक्षित भएर बस्न स्वास्थ्यकर्मीले सचेत गराएका छन् ।