• १० पुस २०८१, बुधबार

आलुमा डढुवाको प्रकोप

blog

रवीन्द्र उप्रेती

बर्दीबास, पुस १० गते । आलु बालीमा डढुवा रोगको प्रकोप देखा परेको छ । रोग प्रकोपले फल नलाग्दै आलुका बोट सुक्न थालेपछि व्यावसायिक आलु कृषक चिन्तित छन् । 

यसको प्रकोप गौशाला नगरपालिकामा सबैभन्दा बढी देखिएको छ । नगरपालिकाको कृषि शाखा प्रमुख कमलेश यादवका अनुसार नगर क्षेत्रका १२ वटा वडामा यस वर्ष २५० बिघाभन्दा बढी क्षेत्रफलमा आलु खेती गरिएको छ । प्रारम्भिक चरणमा रहेको डढुवा रोग फैलने क्रममा रहेकाले यसबाट ठुलो क्षति हुन सक्ने उहाँले बताउनुभयो । 

नयाँ प्रविधिको प्रयोगले आलु र मकै एकैसाथ उत्पादन गर्न सकिने र उत्पादन पनि बढी हुने भएकाले जिल्लाको उत्तरी भेगका किसान केही वर्षदेखि व्यावसायिक आलु खेतीतर्फ आकर्षित छन् । विगतमा उखु र अन्नबाली लागाइने खेतमा पनि आलु र मकै एकैसाथ लगाउने क्रम बढदो छ । 

गौशाला–१२ का कृषक दिनेश महतोका अनुसार सुरुमा कालो दाग देखिएपछि पात सुकेर साता दिनपछि बोट नै मर्ने गरेको छ । उहाँका अनुसार गौशाला नपा–१२ मा २० बिघाभन्दा बढी क्षेत्रफलमा लगाइएको आलु सखाप भएको छ । उहाँले भन्नुभयो, “रोग नलागेको भए आलु एक करोडभन्दा बढी मूल्यको हुने थियो ।”

नगरपालिकाको कृषि शाखा प्रमुख कमलेश यादवका अनुसार जाडो बढ्ने क्रमसँगै मङ्सिर अन्तिम सातादेखि डढुवा रोगको लक्षण देखा पर्न थालेको हो । उहाँले समस्या लिएर अहिले दैनिक चार पाँच जना किसान कृषि शाखा आउने गरेको र उपचार र औषधीको जानकारी दिने गरेको बताउनुभयो । 

गौशाला नगरपालिका–१० का अर्का तरकारी कृषक दिनेश महतोले कृषि प्राविधिकको सल्लाह अनुसारको औषधी छर्कंदा पनि आलुका बोटलाई बचाउन नसकिएको बताउनुभयो । 

किसान महतोले पाँच कट्ठामा आलु खेती गर्न करिब १० हजार खर्च लागेको बताउनुभयो । रोग नलागेको भए पाँच कट्ठामा ३५ क्विन्टलजति आलु उत्पादन हुने थियो । अहिलेको बजार भाउ अनुसार त्यत्ति आलु करिब डेढ लाख मूल्य बराबर भएको उहाँले बताउनुभयो । नगर कृषि शाखा प्राविधिक साजन दहालका अनुसार बर्दीबास नगरपालिकामा पनि डढुवा रोगको प्रकोप देखिएको छ । किसानका अनुसार विगतका वर्षमा शीतलहरको मौसममा डढुवा रोग देखा पर्ने गथ्र्यो । यस वर्ष उल्टो भएको छ । अहिलेसम्म चिसो केही बढे पनि तराईमा शीतलहर चलेको छैन । साँझबिहान चिसो लागे पनि दिनभर झलमल्ल घाम लाग्ने गरेको छ ।