• १० पुस २०८१, बुधबार

माथिल्लो तामाकोशीबाट आंशिक विद्युत् उत्पादन सुरु

blog

गोरखापत्र समाचारदाता

काठमाडौँ, पुस १० गते । माथिल्लो तामाकोशी जलविद्युत् केन्द्रबाट आंशिक रूपमा विद्युत् उत्पादन सुरु भएको छ । गत असोज ११ र १२ गतेको वर्षाका कारण आएको पहिरोले क्षति पुर्‍याएका संरचनाको आंशिक मर्मतसम्भार गरी ८८ दिनपछि मङ्गलबार बेलुका ७:४० बजेदेखि पुनः विद्युत् उत्पादन सुरु गरी राष्ट्रिय प्रसारण प्रणालीमा समाहित गरिएको छ । 

हाल नदीमा उपलब्ध पानीको बहावलाई पूर्ण रूपमा प्रयोग गरी १२० मेगावाट विद्युत् उत्पादन गरिएको तामाकोशी हाइड्रोपावर लिमिटेडले जनाएको छ । ४५६ मेगावाट क्षमताको आयोजना नेपालको सबैभन्दा ठुलो हो ।

अविरल वर्षाका कारण तामाकोशी नदीमा पानीको बहाव उच्च भएपछि असोज ११ गते साँझ ७ बजेदेखि केन्द्रबाट विद्युत् उत्पादन बन्द गरिएको थियो । असोज १२ गतेको पहिरोले बाँधस्थलभन्दा केही तल दायाँतर्फ रहेका नियन्त्रण कक्ष (कन्ट्रोल रुम) भवन, बालुवा थिग्य्राउने पोखरी (डिस्यान्डर) र बाँधबाट डिस्यान्डरसम्म पानी पुर्‍याउने भूमिगत नहर (कलभर्ट) मा क्षति पुर्‍याएको थियो । 

गोङ्गरस्थित विद्युत्गृहबाट लामाबगरस्थित बाँधस्थलतर्फ जाने करिब तीन सय मिटर पहुँचमार्ग खण्डमा ठुला ढुङ्गा खसेर सडक अवरुद्ध भएको थियो । विस्फोटक पदार्थका प्रयोग गरी ढुङ्गालाई फुटाएर सडक खुलाइएको थियो । केन्द्रबाट उत्पादित विद्युत् प्रवाह गर्न गोङ्गर–खिम्ती २२० केभी प्रसारण लाइनको सिङ्गटीस्थित ४६ नम्बर टावरमा वर्षाका कारण क्षति पुगेको थियो । 

दुई वटा डिस्यान्डरमध्ये बायाँतर्फको डिस्यान्डरको आंशिक मर्मतसम्भार सकी विद्युत् उत्पादनका लागि तय गरिएको समयतालिकाभन्दा एक दिनअघिबाट उत्पादन सुरु गरिएको हो । आंशिक रूपमा क्षति पुगेको डिस्यान्डरको पर्खालको पुरानो ढलानलाई भत्काएर मर्मत गरिएको छ । यसै गरी कलभर्टको भित्ता र सिलिङमा देखिएका चिराको ग्राउटिङ गरी मर्मत गरिएको लिमिटेडले जनाएको छ । 

पहिरोले क्षति पुर्‍याएको डिस्यान्डर आंशिक मर्मत गरी तत्कालका लागि माथिल्लो तामाकोशीलाई नदी प्रवाहीका रूपमा सञ्चालनमा ल्याइएको हो । डिस्यान्डरको बाँकी मर्मतसम्भार भइरहेको छ । 

उक्त काम सम्पन्न भएपछि विद्युत् कम माग हुने समयमा पानी जम्मा गरी बढी माग हुने बिहान र बेलुकाको समय (पिक) मा केन्द्रलाई चार घण्टा पूर्ण क्षमतामा चलाउन सकिन्छ । केन्द्रलाई पुसभित्रमा पिक समयमा चलाउन सक्ने गरी मर्मतसम्भार भइरहेको छ । 

जलविद्युत् केन्द्रको प्रवर्धक कम्पनी अप्पर तामाकोशी हाइड्रोपावर लि. सञ्चालक समितिका अध्यक्षसमेत रहनुभएका नेपाल विद्युत् प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङ, कम्पनी सञ्चालक समितिका सदस्यहरू, प्रमुख कार्यकारी अधिकृत (सिइओ) सहितको टोलीले मङ्सिर १८ मा स्थलगत अनुमगन गरी पुस १० भित्रमा मर्मतसम्भार सम्पन्न गरी विद्युत् उत्पादन सुरु गर्ने तालिका तय गरेको थियो ।  

कार्यकारी निर्देशक घिसिङले कम्पनी सञ्चालक समिति, व्यवस्थापन, परामर्शदाता र निर्माण व्यवसायीको निरन्तर प्रयास र रातदिनको खटाइबाट माथिल्लो तामाकोशीको मर्मतसम्भार सम्पन्न भई तालिकाभन्दा एक दिनअघि नै विद्युत् उत्पादन सुरु गर्न सफल भएको बताउनुभयो ।