नवराज कट्टेल
विराटनगर, पुस ९ गते । उद्योगको ब्रान्ड र प्याकेजिङ चोरी गरेर डिटर्जेन्ट पाउडर उत्पादन गर्दै आएको आरोपमा जिल्ला प्रशासन कार्यालय मोरङले युनिक सोप एन्ड केमिकल इन्डस्ट्रिजलाई सिलबन्दी गरेर अनुसन्धान सुरु गरेको छ ।
भारतमा उत्पादन भई नेपालमा आयात हुँदै आएको पतन्जली र फेना सर्फसँग मिल्ने ब्रान्ड र प्याकेजिङसमेत उस्तै गरेको आरोपमा विराटनगर–५, दामाबन्दीस्थित उद्योग सिलबन्दी गरिएको हो ।
जिल्ला प्रशासन कार्यालय मोरङका सहायक प्रमुख जिल्ला अधिकारी प्रदीप साहका अनुसार उद्योगले उत्पादन गरेका सामान नियन्त्रणमा लिएर अहिले थप अनुसन्धानका लागि उद्योग विभागसँग अनुरोध गरिएको छ । जिल्ला प्रशासन कार्यालय मोरङले ब्रान्ड नाम र प्याकेजिङ चोरी भएको हो वा होइन भन्ने यकिन गरिदिन र उत्पादन गरेर बजारमा पठाएको वस्तुको गुणस्तर परीक्षण गरिदिन विभागलाई पत्राचार गरेको सहायक प्रमुख जिल्ला अधिकारी साहले जानकारी दिनुभयो ।
युनिक सोप एन्ड केमिकल इन्डस्ट्रिजले भारतको फेनासँग मिल्ने प्याकेजिङमा युनिक फेना र पतन्जलीसँग मिल्ने पातजली डिटर्जेन्ट उत्पादन गरेर बजारमा बिक्रीवितरण भइरहेका बेला गत शुक्रबार नियन्त्रणमा लिइएको थियो । बजारमा उत्पादन बिक्री गर्दै आएका व्यक्तिलाई नियन्त्रणमा लिएर उद्योगमा पुग्दा सञ्चालक मनोज यादवले उद्योग बन्द गरेर भागेको अवस्थामा प्रशासन पुगेको थियो । त्यसपछि ताला खोल्न लगाएर हेर्दा उस्तै प्रकृतिको ब्रान्ड नेम र उस्तै प्याकेजिङमा राखिएका दुई उत्पादन बरामद गरेको थियो ।
“ठ्याक्कै ब्रान्ड र प्याकेजिङ चोरी भएको वा नभएको भन्ने यकिन गर्ने जनशक्ति हामीसँग छैन,” सहायक प्रमुख जिल्ला अधिकारी साहले भन्नुभयो, “उद्योग विभागले यो बौद्धिक चोरी हो कि होइन ? भन्नेदेखि यसभित्रको वस्तु गुणस्तरको हो कि होइन ? भन्ने यकिन गर्नुपर्ने देखिएको छ । उद्योगको गाडी भने जिल्ला प्रशासन कार्यालयमा लगेर राखिएको छ ।”
पतन्जली आयुर्वेद प्रालि वीरगन्जको उत्पादन विराटनगरमा श्रीकृष्ण ट्रेडर्स आधिकारिक विक्रेता रहेको छ । यसका सञ्चालक अरुण जैनका अनुसार पतन्जलीको एक केजीको सर्फको मूल्य १२५ रुपियाँ रहेको छ । ठ्याक्कै उही प्याकेजिङमा पातजली बनाएर युनिक सोपले बजारमा ल्याएको प्याक नौ सय ग्रामको मात्रै छ । जबकि नौ सय ग्राम वजन भएको प्याकेजिङ गर्नसमेत मिल्दैन ।
त्यस्तै फेनाको जस्तै प्याकेजिङमा ल्याएको युनिक फेनाको मूल्य एक सय रुपियाँ राखिएको छ । फेना एक केजीको मूल्य भने १२५ रहेको यसका आधिकारिक विक्रेता भगवती ट्रेडर्सका नितेश अग्रवालले जानकारी दिनुभयो । पतन्जलीले आफ्नो उत्पादन नक्कली भएको भन्दै उद्योगलाई यस अगाडि नै पत्राचार गरिसकेको थियो तर उद्योगले बारम्बार उस्तै प्याकेजिङमा उत्पादन बजारमा ल्याएपछि जिल्ला प्रशासन कार्यालयमा उजुरी गरेको थियो ।
उद्योगका सञ्चालक मनोज यादवले भने ब्रान्ड चोरी गरेको भन्न नमिल्ने दाबी गर्नुभयो । उहाँले पतन्जलीको नामसँग पातजली नमिल्ने बताउँदै भन्नुभयो, “हामीले ‘एन’ अक्षर प्रयोग गरेर शब्द बनाएका छैनौँ, फेनामा समेत हामीले नेपाली शब्द युनिक राखेका छौँ ।”
सहायक प्रमुख जिल्ला अधिकारी साहले शब्दमै फरक पर्दा त्यसको निरूपण कसरी गर्ने भन्ने यकिन पनि उद्योग विभागले गर्नुपर्ने देखिएको बताउनुभयो । उहाँले डिटर्जेन्ट पाउडर आयात गरेर प्याकेजिङ गर्नुपर्नेमा भित्रको वस्तुमा समेत शङ्का गर्नुपर्ने अवस्था रहेकाले गुणस्तरसमेत अध्ययन गर्नुपर्ने अवस्था देखिएको बताउनुभयो ।
यता आधिकारिक विक्रेताले भने डिटर्जेन्ट पाउडरको स्थानमा युनिक सोपले ब्लिच सोडामा कलर मिलाएर आफ्ना उत्पादनलाई उस्तै देखिने प्याकेजिङमा बजार पठाउँदै आएको दाबी गरेका छन् तर उद्योगी यादवले भने केमिकल संयोजनमा समस्या नरहेको दाबी गर्नुभयो ।