लीलाधर वली
घोराही, पुस ८ गते । अमलाको फल बिक्री गरेर दाङका सामुदायिक वनहरुले राम्रो आम्दानी गर्दै आएकाे छ । सामुदायिक वनमा आफैं उम्रिएका र वृक्षारोपन गरिएका रुखहरुमा फलेका अमलाका फल बिक्री हुन थालेपछि सामुदायिक वनले वर्षेनी लाखौं रुपियाँ आम्दानी गर्न थालेका छन् ।
देउखुरीको राजपुर गाउँपालिका–३ खरदरियामा रहेको जनकल्याण सामुदायिक वन उपभोक्ता समूहले यस वर्ष करिव एक लाख रुपियाँको अमलाको फल ठेक्कामा बिक्री गरेको वन समूहका अध्यक्ष लीला यादवले बताउनुभएको छ । वन समूहका अध्यक्ष यादवका अनुसार गत वर्ष वन समूहले ५० हजार रुपियाँ आम्दानी गरेको थियो । अमलाका फल बिक्री गरेर वन समूहले आम्दानीसँगै वन संरक्षणको काममा लगाउने गरेको बताउनुभयो ।
गत वर्षको तुलनामा यसवर्ष वनमा राम्रो फल लागेपछि दोव्वर आम्दानी भएको वन समूहका अध्यक्ष यादवले बताउनुहुन्छ । वन समूहले खाली जग्गामा रोपेका अमलाका रुखहरुमा फल लाग्न थालेपछि बर्षेनी आम्दानी पनि बढ्दै गएको भन्दै वन समूहका अध्यक्ष यादवले भन्नुभयो, "पहिले थोरै बोट थिए,पैसा पनि खास्सै हुँदैन थियो तर अमलाका फलहरु बिक्न थालेपछि बिरुवा बर्सेनी बढाउँदै गएका छौं ।"
वन समुहको करिव २५ हेक्टर क्षेत्रफलमा साना ठूला गरेर करिव दुई हजार पाँच सय बढी रुखहरु रहेका छन् । केही बर्षअघिसम्म खाली रहेको जमिनमा वन समूहले वृक्षारोपन गरेर पछिल्लो समय अमला उत्पादनमा जोड दिएको उहाँले बताउनुभयो । उहाँका अनुसार काठजन्य विरुवासँगै जटिवुटी र फलफूलका बिरुवा रोपेर वन समुहलाई आम्दानीसँग जोड्ने काम गरेको छ ।
जनकल्याण सामुदायिक वन जस्तै देउखुरी क्षेत्रमा अन्य सामुदायिक वन समूहहरुले पनि अमललगायतका फलहरु बिक्री गरेर आम्दानी गर्दै आएका छन् । जनकल्याणन जस्तै देउखुरी क्षेत्रमा अन्य सामुदायिक वनहरुले पनि अमलालगायतका जटिवुटी तथा फलपूmलका विरुवा रोपेर आम्दानी गर्दै आएको सव डिभिजन कार्यालय बेलाका कर्मचारी विश्वजंग विकले बताउनुभयो । मलाको फललाई आयुर्वेदिक औषधि बनाउने उद्योगलाई प्रतिकिलो ५० रुपियाँका दरले बिक्री गर्ने व्यवसायी बताउँछन् ।