रमेश विश्वकर्मा
गुल्मी, पुस ८ गते । सुनचाँदी व्यवसायीहरुको साझा संस्था गुल्मी सुनचाँदी व्यवसायी सङ्घको अध्यक्षमा झविन्द्र विश्वकर्मा निर्विरोध निर्वाचित हुनुभएको छ । चौथो अधिवेशनबाट अध्यक्षमा विश्वकर्मा सर्वसम्मत निर्वाचित हुनुभएको हो ।
रेसुङ्गा नगरपालिका –१४ पराल्मी निवासी विश्वकर्मा गुल्मी सुनचाँदी व्यवसायी सङ्घमा २०५८ सालदेखि आवद्ध भएर कोषाध्यक्ष, वरिष्ठ उपाध्यक्ष हुँदै अहिले अध्यक्षमा सर्वसम्मत रुपमा निर्वाचित हुनुभएको हो । नवनिर्वाचित अध्यक्ष विश्वकर्माले सङ्घलाई नयाँ प्रविधिमैत्री बनाउँदै व्यवसायीहरुका लागि तालिम सञ्चालन तथा सबैसँगको समन्वयमा अघि बढ्ने बताउनुभयो ।
त्यस्तै, वरिष्ठ उपाध्यक्षमा रामबहादुर सुनार (दीपक), उपाध्यक्षहरुमा ज्ञानेन्द्र सुनार, हेमन्त सुनार र कमल सुनार निर्वाचित हुनुभएको छ । सङ्घको महासचिवमा राम वराल सर्वसम्मत चयन हुनुभएको निर्वाचन संयोजक गोपालबहादुर सुनारले जानकारी दिनुभयो ।
सचिवमा सुवर्ण बराल, सहसचिवमा श्रीकृष्ण सुनार र कोषाध्यक्षमा इन्द्रबहादुर चुँदारा (रमेश) निर्वाचित हुनुभएको छ । पदाधिकारीसहित २५ सदस्यीय कार्य समिति चयन भएको नवनिर्वाचित अध्यक्ष विश्वकर्माले जानकारी दिनुभयो ।
अधिवशेनमा ११७ जना प्रतिनिधि सहभागी भएका थिए । गुल्मी सुनचाँदी व्यवसायी सङ्घको जिल्लास्थित कार्यालयमा एक जना कर्मचारी कार्यरत हुनुहुन्छ । नेपाल सुनचाँदी व्यवसायी महासङ्घसँगको समन्वयमा दैनिक रुपमा सुनचाँदीको दरभाउ प्रकाशन गर्दै आइरहेको छ।