• ७ पुस २०८१, आइतबार

फोहोर राजमार्ग

blog

‘गर्नेलाई भन्दा देख्नेलाई लाज’ राजमार्ग एवं सडक किनारामा जथाभाबी फोहोर गर्नेका लागि यही उखान चरितार्थ हुन्छ । यात्रा गर्दा गाडीभित्रैबाट फोहोर फुत्त बाहिर फाल्ने, अलि फराकिलो वा एकान्त स्थान देख्नेबित्तिकै सवारीसाधन रोकेर निर्लज्ज ढङ्गले दिसापिसाब गर्ने परम्परा नै बनेको छ ।   

सडक किनारामा फोहोर गर्नेहरू आफैँमा लज्जित हुनुपर्नेमा उल्टै आनन्दको अनुभूति गर्छन् जस्तो लाग्छ । कतिसम्म भने जङ्गल र एकान्त स्थानमा सवारीसाधन रोकेरै दिसापिसाब गर्नेहरू हस्याङ्फस्याङ गर्दै दौडिन्छन् । 

मिनरल वाटरको बोतल, प्लास्टिकका झोला र चाउचाउका खोल तथा अन्य तयारी खाद्यवस्तुका खोल सडक किनारा जताततै छरपस्ट देख्न सकिन्छ । उदाहरणका रूपमा चितवनको टिकौली सडक क्षेत्र र नारायणगढ–मुग्लिङ–काठमाडौँ राजमार्गको छेउछाउलाई लिन सकिन्छ ।

भरतपुर उपमहानगरपालिका र रत्ननगर नगरपालिकाको बीचमा पर्ने टिकौली सडक पूर्वपश्चिम राजमार्ग अन्तर्गत पर्छ । यो सडक क्षेत्र फोहोरका कारण दुर्गन्धित त छँदै छ जङ्गली जनावरका कारण यहाँ दुर्घटनासमेत बढी हुने गरेको छ । 

सडक किनारामा फालिएको फोहोर, मलमूत्र र सुक्खा खानेकुराको खोलभित्रको नुनिलो पदार्थ चाट्न जङ्गली जनावर सडक किनारा आउँदा सवारी दुर्घटनाको जोखिम उच्च हुन्छ । विज्ञहरूको भनाइ छ, विशेष गरी मानव मलमूत्र मिसिएको माटो र मानिसले फालेको फोहोर चाट्न मृग, हरिणलगायतका वन्यजन्तु सडक क्षेत्रमा आउने भएकाले दुर्घटना हुने गरेको छ । 

इकोलोजिस्ट हरिभद्र आचार्यको भनाइमा सडक किनार वा जङ्गलमा मानिसले गरेको फोहोर जङ्गली जनावरका लागि एक किसिमको मन्द विष नै हो । उनका अनुसार मानिसले प्रयोग गर्ने खानेकुरा र प्लास्टिक जङ्गली जनावरका लागि घातक त छँदै छ, त्यसरी सडक वरिपरि आइपुग्ने जनावरकै कारण साँझ वा रातिको समयमा दुर्घटना बढेको छ । 

डिभिजन वन कार्यालय चितवनको तथ्याङ्कले भन्छ, चालु आर्थिक वर्षमा राजमार्ग क्षेत्रमा सवारी दुर्घटनाका कारण १३ जनावरको मृत्यु भएको छ र घाइते भएका ६३ जनावरको उद्दार गरिएको छ । 

अधिकारकर्मी सुनील गोलेको मत के छ भने राजमार्ग एवं सडक क्षेत्रमा हुने फोहोर नियन्त्रणका लागि यात्रुलाई सचेत गराउने तथा सार्वजनिक शौचालय भएको स्थानमा मात्र सवारी रोक्न लगाउने अनि सडक किनारामा होइन होटल वा रेस्टुरेन्टमा राखिएका डस्टबिनमा फोहो फाल्न लगाउनु पर्छ । 

अधिकांश सडकमार्ग फोहोर हुनुमा सार्वजनिक तथा निजी सवारीका चालक र यात्रु दोषी देखिन्छन् । सडक वा सार्वजनिक स्थानमा फोहोर फाल्नु हुँदैन भन्ने ज्ञान र चेतना भएकाले नै यस्तो बदमासी गर्ने भएकाले बाँके–बर्दिया राष्ट्रिय निकुञ्जको जस्तो व्यवस्था सबैतिर लागू गरिनु आवश्यक छ । 

बर्दिया राष्ट्रिय निकुञ्ज क्षेत्रमा पर्ने पूर्व–पश्चिम राजमार्ग सडकखण्डमा कोही कसैले थुक्न पनि पाउँदैनन् । सडकमा थुकेमा पुछ्न लगाउने र फोहोर फालेमा जरिबाना तिराइनेसम्मको कारबाही गरिन्छ । त्यस्तै सवारीसाधनका लागि गति र समय (टाइमकार्ड ) निर्धारण गरिएको छ । निर्धारित समयभन्दा ढिलो वा छिटो पुगेमा सवारीसाधनका चालकलाई कारबाही गरिन्छ । 

निकुञ्ज क्षेत्रको सडक सरसफाइ र सुरक्षाका विषयमा चालक र यात्रुलाई जिम्मेवार बनाउन नेपाली सेनाले अग्रिम सूचना एवं निर्देशन दिने गरेको छ । 

कोहलपुर कटेर राष्ट्रिय निकुञ्ज प्रवेश गरेदेखि कर्णाली पुल नतर्दासम्म सबैका लागि यस्तो नियम लागू हुन्छ । चालक र सहचालक स्वयम्ले पनि यात्रुलाई टाउको बाहिर ननिकाल्न, नथुक्न र कुनै किसिमको फोहोर नफाल्न उर्दी जारी गर्छन् । यात्रुले पनि निकुञ्ज प्रवेशको मुखमै रहेको सार्वजनिक शौचालय प्रयोग गर्ने र त्यहाँ तोकिएको स्थानमा फोहोर फाल्ने गर्छन् ।

अन्य निकुञ्ज तथा सामुदायिक वन क्षेत्रमा पर्ने सडकमा यस्तो व्यवस्था लागू भएको छैन । राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु संरक्षण विभागका अनुसार निकुञ्ज क्षेत्र वा वनभित्र पर्ने सडक क्षेत्रमा यस किसिमको सतर्कता अपनाउन सकिन्छ तर सम्बद्ध निकाय जागरुक र जिम्मेवार हुन जरुरी छ । फोहोरमैला व्यवस्थापन राष्ट्रिय नीति, २०७९ ले राष्ट्रिय राजमार्ग वा सडकमा हुने फोहोर व्यवस्थापनका लागि स्थानीय तहलाई जिम्मेवार बनाएको छ । 

तर नगरपालिका र गाउँपालिका फोहोर व्यवस्थापनप्रति जिम्मेवार नबन्दा सफा सुग्घर र हरियाली हुनुपर्ने सडक किनारा दिसापिसाब विसर्जन, प्लास्टिकजन्य फोहोर फाल्ने डम्पिङ साइट बन्दै गएका छन् । 

सडकमा गरेको फोहोर उडेर वा बगेर नदीमा पुग्दा नदीसमेत प्रदूषित हुने गरेको छ । नारायणी नदी र राप्ती नदी यसका उदाहरण हुन् । नेपाली सेनाले सम्बद्ध निकायसँगको सहकार्यमा ती दुई नदीमा सरसफाइ थालेको छ । स्थानीय तहले फोहोर गर्नेलाई नगद जरिबाना तिराउन सक्ने कानुनी व्यवस्था छ तर यसको व्यावहारिक पक्ष फितलो छ । 

–देवबहादुर कुँवर   

–युवामञ्च