• ६ पुस २०८१, शनिबार

खाद्य स्वच्छता कायम राख्न नगरपालिकाको पहल

blog

तस्बिर : बिष्णुप्रसाद पोखरेल

बिष्णुप्रसाद पोखरेल
दमक, पुस ६ गते ।
झापाको दमकमा रहेका कतिपय खाद्य उद्योगहरुले आधारभूत मापदण्ड समेत पालना नगरेको भेटिएपछि दमक नगरपालिकाले खाद्य स्वच्छतासम्बन्धी कार्यक्रम सुरु गरेको छ ।

दमकमा सञ्चालन भइरहेको खाद्य उद्योग व्यवसायीहरुलाई खाद्य स्वच्छतासम्बन्धी अभिमुखिकरण दिन थालिएको नगरपालिका उपप्रमुख एवम् दमक नगरपालिका बजार अनुगमन तथा उपभोक्ता हित संरक्षण समितिका संयोजक रेगिना भट्टराईले बताउनुभयो । अनुमनगर्दा अधिकांश खाद्य उद्योगहरुले नियम, कानुनको विषयमा जानकारी नभएकाले अन्जानमा गल्ति गरेको बताउन थालेपछि नगरपालिकाले यसमा चासो दिएको हो ।

बजार अनुगमन गर्दा स्वास्थ्यमा प्रतिकुल हुने गरी उत्पादन गरिरहेको, आधारभूत मापदण्ड पालना नगरेको, उत्पादन मिति तथा उपभोग्य मिति टाँस नगरी खाद्य उत्पादनहरु बजारमा ल्याएको जस्तो पाइएकाले आफुहरुले खाद्य उद्योगहरुलाई यस विषयमा जानकारी दिन थालिएको भट्टराईले जनाउनुभयो । अनुगमन गरी केही उद्योगहरुलाई नगरपालिकाले बन्द नै गराएको थियो ।

खाद्य स्वच्छता दैनिक जीवनमा खानेकुराको सुरक्षासँग गाँसिएको हुन्छ । खाना वा पेय पदार्थको प्रशोधन, तयारी र भण्डारणको व्यवस्था तोकिए अनुसारको गुणस्तरीय हुनुपर्ने बताइन्छ । खानाजन्य रोगहरूको जोखिम कम गर्नका लागि खाद्य उत्पादकहरुले अपनाउनुपर्ने विधि र सुरक्षाको विषयमा सचेत गराउने गरिएको भट्टराईले बताउनुभयो । दमक नगरपालिकाले पछिल्लो समयमा नियमित रुपमा बजार अनुगमन गर्दै आएको छ ।

लेवल टाँस नभएका र मापदण्ड विपरित उत्पादन भएका खाद्य पदार्थहरु बेचबिखनमा रोक लगाईएको नगरपालिकाले जनाएको छ । भट्टराईका अनुसार त्यस्ता सामाग्रिहरु भेटिएमा जफत गरेर तत्कालै नष्ट गर्न बजार दमक नगरपालिका बजार अनुगमन तथा उपभोक्ता हित संरक्षण शाखालाई निर्देशन दिइएको छ । दमक नगरपालिकाले बजार अनुगमनका लागि बेग्लै शाखा नै बनाएको छ ।