सङ्खुवासभा, असार ६ गते । धार्मिक, सांस्कृतिक र पर्यावरणीय दृष्टिले अत्यन्तै संवेदनशील मानिने भोटखोला गाउँपालिकामा रहेको वरुण नदीमा विद्युत् परियोजना सञ्चालन गर्ने सरकारी निर्णयप्रति स्थानीयवासीले आपत्ति जनाएका छन् ।
जल माफियाले सांस्कृतिक पक्षलाई समेत ध्यान नदिएको स्थानीयको आरोप छ । प्रशासनले समेत माफियासँग मिलेमतो गरी निर्णय गरेको भन्दै विद्युत् उत्पादन कुनै हालतमा गर्न नदिने भन्दै स्थानीयले आपत्ति जनाएका हुन् । भोटखोला गाउँपालिका–४ मा अवस्थित वरुण नदीलाई पवित्र धार्मिक स्थलको रूपमा चिनिन्छ । जहाँ हरेक वर्ष करिब ३० हजार बढी श्रद्धालु नुहाउन र पूजा गर्न पुग्ने गर्छन्। तर हालै एम्पीक इनर्जी प्रालिलाई उक्त क्षेत्रमा १३२ मेगावाटको जलविद्युत् आयोजना सञ्चालन गर्न अनुमति दिइएको भन्दै स्थानीय आक्रोशित भएका छन्।
बरुण नदीमा हरेक वर्ष करिब ३० हजार बढी श्रद्धालु नुहाउन र पूजा गर्न गर्छन् ।
शुक्रबार खाँदवारीमा आयोजित पत्रकार सम्मेलनमार्फत वरुण धाम संरक्षण नागरिक समितिले आफ्नो औपचारिक विरोध सार्वजनिक गर्दै विद्युत् परियोजना तुरुन्त खारेज गर्न माग गरेको छ। समितिका संयोजक उत्तरकुमार राईले भन्नुभयो, “वरुण शिव धाराबाट बगेको पवित्र नदी हो। धार्मिक, सांस्कृतिक र प्राकृतिक सम्पदाको विनाश हुने भएकाले कुनै पनि हालतमा यहाँ बिजुली निकाल्न दिने छैन।”
वरुण नदी मकालु–वरुण राष्ट्रिय निकुञ्जको सीमाभित्र पर्छ, जसले वरुण क्षेत्रलाई संरक्षित पर्यावरणीय सम्पदाको रूपमा अझ महत्त्वपूर्ण बनाएको छ। संयोजक राईले विद्युत् आयोजना सञ्चालन भए सांस्कृतिक मूल्य–मान्यता, जैविक विविधता र धार्मिक पर्यटकीय सम्भावनामा गम्भीर क्षति पुग्ने चेतावनी दिएका छन्।
यता, परियोजना लिएको एम्पिक इनर्जीले भने स्थानीयको मागअनुसार विकास पूर्वाधार निर्माण गर्ने र मकालु गाउँपालिकाद्वारा तयार पारिएको वरुण धामको डिपिआर (विस्तृत परियोजना प्रतिवेदन) अनुसार निर्माण गरिदिने आश्वासन दिँदै आएको छ। तर नागरिक समितिले यस्तो आश्वासनलाई विश्वास गर्न नसकिने स्पष्ट पारेको छ।
वरुण संरक्षणका पक्षमा गाउँपालिकाले समेत सक्रियता देखाएको छ । २०८० साल जेठ ३१ गते गाउँपालिकाले जलस्रोत तथा ऊर्जा मन्त्रालय र सङ्खुवासभाका सांसदहरूलाई पत्राचार गरी वरुण क्षेत्रमा विद्युत् आयोजना उपयुक्त नभएको जानकारी गराइसकेको छ।