• ६ पुस २०८१, शनिबार

विद्यालयलाई नतिजामा आधारित अनुदान

blog

टीकापुर समाचारदाता

टीकापुर, पुस ६ गते  । कैलालीको जानकी गाउँपालिकाले विद्यालयको नतिजामा आधारित अनुदान कार्यक्रम लागु गरेको छ । पालिकाले एक कार्यविधि बनाई सबै विद्यालयको नतिजाका आधारमा मूल्याङ्कन गरेर उत्कृष्टका आधारमा अनुदान दिएको छ । गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत आशिष चौधरीले शैक्षिक गुणस्तर बढाउन विद्यालयलाई प्रोत्साहन गर्ने उद्देश्यले छ वटा सूचक बनाई २५ अङ्कभार दिएर एसइई र कक्षा ८ को नतिजाका आधारमा विद्यालयको मूल्याङ्कन गरेर अनुदान दिएको बताउनुभयो ।

शैक्षिक सत्र २०८० मा मावितर्फ उत्कृष्ट भृकुटी मावि सूवर्णपुरले चार लाख, दोस्रो जनता मावि मुनुवाले दुई लाख ५० हजार, तेस्रो अरुणोदय मावि खैरीफाँटाले एक लाख ५० हजार पाएको छ । आधारभूत विद्यालयतर्फ पहिलो राष्ट्रिय आधारभूत विद्यालय खैरीपुरले तीन लाख र दोस्रो हिमालय आधारभूत विद्यालयले दुई लाख पाएको छ ।

उत्कृष्ट विद्यालयलाई नागरिक उन्मुक्ति पार्टीका अध्यक्ष तथा पूर्वमन्त्री रञ्जिता श्रेष्ठले चेक तथा प्रमाणपत्र प्रदान गर्दै  विद्यार्थीलाई कक्षाकोठा र पाठ्यपुस्तकमा मात्र सीमित नराखी विद्यार्थीको प्रतिभा बढाउने काम गरेकोमा गाउँपालिकाका कामको प्रशंसा गर्नुभयो ।

गाउँपालिकाले पालिकास्तरीय शैक्षिक कार्यक्रम राखी पुरस्कार वितरण गरेको छ । शुक्रबार महेन्द्र शिशु मावि धर्मापुरमा भएको कार्यक्रममा पालिकाभरिका ११ वटा माविका विद्यार्थीका बिच गायन प्रतियोगिता, नृत्य प्रतियोगिता, विद्यार्थीको चित्रकला प्रतियोगिता गराएको छ । विभिन्न विधाका उत्कृष्ट प्रतियोगी र ‘मेरो विद्यालयको परिवेश’ शीर्षकमा भएको निबन्ध प्रतियोगिताका उत्कृष्ट विद्यार्थीलाई पुरस्कृत गरिएको छ ।