यथार्थवादी र क्रान्तिकारी कलाकारका रूपमा गुस्ताव कुर्वेको नाम विश्वप्रख्यात छ । कलामा सुन्दरता होइन सत्यता हुनु पर्छ भन्ने मान्यता राख्ने गुस्ताव कुर्वेले यही सिद्धान्त अङ्गीकार गरी धेरै चित्र बनाएका थिए । कुर्वेको यो विचार र कलाले फ्रान्सको कला जगत्मा ठुलो हलचल सिर्जना गरेको थियो ।
वास्तवमा कला भन्ने शब्द नै सुन्दर छ । सुन्दरता नभई कला हुँदैन । कलाको उदय मानसिक सौन्दर्य भावनाको परिचायक हो । सौन्दर्य–भावनालाई वृद्धि गर्न र मानसिक विकासका लागि कलाको उदय भएको हो । टाल्सायका अनुसार ‘कलाको प्रक्रिया, आफ्नो हृदयमा उठेको अनुभूतिलाई क्रिया, रेखा, वर्ण र ध्वनि आदिको सहयोगले अर्काको हृदयसम्म पु¥याउनु नै हो ।’
क्रासका अनुसार ‘मनुष्यको मुक्तात्मा अवस्थित वास्तवीकरण हो । कलाको सृष्टि मङ्गलत्वलाई पुष्ट गर्नुभएको हो । नष्ट गर्न पक्कै होइन । यदि कलाकार हाम्रो अशुभ हुन्छ भने त्यो कला होइन अरू केही हो । जति कलात्मक ढङ्गले फाँसी दिए पनि त्यो फाँसी नै । कला जति सत्य हुन आवश्यक छ, त्यति नै शुभ हुन पनि अनिवार्य छ ।’
कला शब्दको ‘क’ को संस्कृत अर्थ आनन्द र प्रकाश भन्ने लाग्छ । ‘ला’ धातुको अर्थ हो ल्याउनु । अतः कलाको अर्थ हो त्यो क्रिया अथवा शक्ति जसले आनन्द प्रकाश ल्याउँछ । आनन्ददायक हुन, रमणीय हुन आवश्यक छ । रमणीयताको परिभाषा माघका अनुसार ‘क्षणे क्षणे यन्नवतामुपैति तदेव रूप रमणीयताथा’ (प्रतिदक्षण जो नवीनताको रङ रूप धारण गर्छ त्यो रमणीय हो) ! विद्रोही चेतका कलाकार गुस्ताव कुर्वेलाई कलाका कुनै परिभाषाले बाँधेन । परिभाषाभित्र कलालाई कोच्न चाहेनन् । कलामा सुन्दरता होइन सत्यता हुनु पर्छ भन्ने विचार राख्दै कलाकार कुर्वेले १८४० मा पेरिस पुगी त्यहाँको विश्वप्रसिद्ध लुभ्र कला सङ्ग्रहालयमा महिनौँ बसेर उत्कृष्ट चित्रको नक्कल गरे । पेरिस बसाइपछि यिनी अतरियर सुसिस पुगी अनगन्ती दृश्यचित्र बनाए ।
फ्रान्स देउ औरनान्समा इसं. १८१९ मा जन्मिएका कुर्वेलाई प्रकृतिवादी कलाकार कारामास्कीको प्रभाव परेको थियो । कलाकार कारामास्कीकै प्रभावमा यिनले स्टिल लाइफ, व्यक्तिचित्र र दृश्यचित्र बनाएका थिए । कलाकार कुर्वेले कलाको व्यस्त जीवन औरनान्सको पहाडी इलाकामा बिताएका थिए ।
गरिबको दिन दशा उदाङ्ग पार्दै १८४९ मा यिनले ‘स्टोन ब्रेकर्स’ शीर्षक चित्र बनाए । त्यस चित्रमा यिनले व्यक्त गरेका भावले कलापारखीको मन छोयो तर १९४५ मा त्यो चित्र बिग्रेर नष्ट भयो । कलाकार गुस्ताव कुर्वेले ‘ब्रुयल एट औरनान्स’ शीर्षक चित्रमा पनि गरिब किसानको समाधि दफन गरेको देखाएका छन् । यिनको यो चित्र लुभ्रमा सङ्कलित छ ।
खोइ किन हो कुन्नी कलाकार गुस्ताव कुर्वे धर्मका पुजारी (पादरी) सँग चिढिए । यिनले त्यही रिसको झोकमा रक्सीले मातिएका पुजारीलाई चित्रण गर्दै ‘रिटर्न फ्रम द कन्फ्रेन्स’ शीर्षक क्रान्तिकारी चित्र बनाए । यिनको यो चित्रको तीव्र आलोचना भएको थियो । चर्चका पादरीले कलाकार कुर्वेको विरोध गरे । कहर क्याथोलिकले सो चित्र धुजा धुजा पारेर च्याते । कुर्वेलाई समाजविरोधी आरोप लगाउँदै पिट्नुसम्म पिटे ।
हुन पनि कलाकार गुस्ताव कुर्वे अनौठा विचारका थिए । यिनी विद्वान्सँग न डग्दथे, न विरोध गर्दथे । यिनको विचार विद्वान्सँग मिल्दैन थियो । यिनको विचारमा कला पूर्ण स्वतन्त्र हुनु पर्छ । कुनै पनि आदर्शको बन्देज कलामा लागु हुनु हुँदैन । यिनी दृश्यचित्रका रचना स्विकार्दैन थिए । तैपनि यिनका चित्र पुरस्कृत हुन्थे । १८४९ मा स्वर्ण पदक नै पाएका थिए । पुरस्कार प्राप्त गरे पनि यिनका चित्रको कटु आलोचना गरिन्थ्यो ।
कला समीक्षकले कुर्वेका चित्रमा ‘टेकनिक’ अपूर्ण छन् भन्ने गर्थे । यिनले रोजेका रङको अर्थ खुद आफैँ पनि लगाउन सक्दैनथे । यिनका नग्न चित्रहरू धेरै आपत्तिजनक थिए । १८५५ र १८६७ मा सेलोनले यिनका चित्र प्रदर्शन नगर्ने निर्णय लियो । तैपनि यिनले एकल प्रदर्शनी आयोजना गरेका थिए ।
कलामा सत्यता हुनु पर्छ भन्ने विचारलाई धेरै पछि बेल्जियम, हल्यान्ड, जर्मनी र फ्रान्समा स्विकारियो । त्यसपछि यिनका चित्र बढी मूल्यमा बिक्री हुन थाल्यो । कुर्वेको विचारलाई फ्रान्सको कला विकासमा एक सशक्त आन्दोलन नै ठानियो । कलाकार गुस्ताव कुर्वेले स्विट्जरल्यान्डमा पुगी केही चित्र बनाएका थिए र यिनी स्विट्जरल्यान्डमा नै १८७७ मा दिवङ्गत भएका थिए ।
यिनका चित्रहरू बरमिनधाम, बोस्टन, बुढापेस्ट, सिकागो, ओहायो, डुब्लिन, हार्टफोर्ट, लिड्स, लिभरपुल, लन्डन, मेन्चेस्टर, न्युयोर्कका सङ्ग्रहालयमा सङ्कलन गरिएका छन् ।