• १४ वैशाख २०८१, शुक्रबार

उपत्यकाका बङ्गुरमा अफ्रिकन स्वाइन फिभर

blog

गोरखापत्र समाचारदाता

काठमाडौँ, जेठ ७ गते । उपत्यका विभिन्न ठाउँमा पालिएका बङ्गुरमा अफ्रिकन स्वाइन फिभर रोग देखा परेको छ । यो रोगका कारण एक हजार १९ सुँगुर तथा बङ्गुर मरेको पशुसेवा विभागले जनाएको छ ।  काठमाडौँको कागेश्वरी मनोहरा क्षेत्रमा पालिएका बङ्गुरमा उच्च मृत्युदर देखा परेपछि नमुना परीक्षण गर्दा अफ्रिकन स्वाइन फिभर रोग देखापरेको हो ।  

पशु सेवा विभागबाट खटिएका प्राविधिक टोलीले प्रदेश र स्थानीय तहका पशु सेवासँग सम्बन्धित निकायसँग सहकार्यमा  रोगको सघन निगरानी गर्ने क्रममा काठमाडौँको कागेश्वरी मनोहरा, कीर्तिपुर, चन्द्रागिरि, टोखा, दक्षिणकाली र ललितपुरको गोदावरी क्षेत्र र भक्तपुरको चाँगुनारायण क्षेत्रमा पालिएका फार्ममा रोग देखा परेको पाइएको हो । यो रोग बङ्गुरमा नेपालमा पहिलो पटक देखा परेको हो । 

विभागका महानिर्देशक 

डा. रामनन्दन तिवारीले उपत्यकाका बङ्गुरमा यो रोग देखापरेकाले अन्यन्त्र फैलिन नदिन सतर्कता अपनाइएको जानकारी दिनुभयो । यो रोग लागेका सुँगुर र बङ्गुरको मासु राम्रोसँग पकाएर उपभोग गर्दा मानव स्वास्थ्यलाई कुनै असर नगर्ने बताउँदै उहाँले यो रोग छिटो फैलिने भएकाले अन्य फार्ममा फैलिन नदिन उच्च सर्तकता अपनाउन सुझाव दिनुभयो । 

विभागका अनुसार यो रोग सङ्क्रमण भएमा सँगुर प्रजातिमा ज्वरो आउने, कान पुच्छर, पेटको तल्लो भागको बाहिरी छाला रातो हुने, शरीरमा निलो धब्बा देखिने, खाना नखाने, बान्ता गर्ने, छटपटाउने लक्षण देखा पर्छन । यो रोगविरुद्ध हालसम्म कुनै खोप उपलब्ध नभएको र रोगविरुद्ध प्रभावकारी उपचार नहुने हुँदा रोग देखा परेमा ठूलो आर्थिक क्षति गराउने भन्दै माथिका लक्षण देखा परेमा सङ्घ, प्रदेश र स्थानीय तहमा रहेका पशुसेवासँग सम्बन्धित निकायमा खबर गर्न व्यवसायीलाई विभागले आग्रह गरेको छ ।