• १० पुस २०८१, बुधबार

पर्यटनमा नवीन अध्याय

blog

त्रिवि क्रिकेट मैदानमा जारी नेपाल प्रिमियर लिग (एनपिएल) को अवसरमा आफ्नी छोरीका साथ नेपाल आउनुभएका विश्व क्रिकेटका महान् हस्ती ब्रायन लारा । तस्बिर : विकास द्वारे

काठमाडौँ, पुस ६ गते । नेपाली क्रिकेटको युगीन रूपान्तरण र नवीन सम्भावनाको ढोका खोल्ने फ्रेन्चाइज क्रिकेट प्रतियोगिता नेपाल प्रिमियर लिग (एनपिएल) ले नेपालको पर्यटन प्रवर्धन क्षेत्रमा पनि सुनौलो अध्याय आरम्भ गरेको छ । 

नेपाल प्रिमियर लिगमा विदेशी खेलाडीको उल्लेख्य उपस्थिति, विदेशमा व्यापक प्रचारप्रसार र विश्व क्रिकेटका महान् हस्तीहरूको गौरवपूर्ण उपस्थिति र भ्रमणले पर्यटन प्रवर्धनमा नवीनतम सम्भाव्यता उजागर गरेको हो । 

विश्व क्रिकेटका प्रसिद्ध खेलाडी वेस्ट इन्डिजका ब्रायन लारा आफ्नी छोरीका साथ नेपाल आउनुभयो । उहाँले सगरमाथा क्षेत्रको भ्रमण गरेको तस्बिर अहिले भाइरल भइरहेको छ । सुदूरपश्चिम रोयल्सका मेन्टर एवं अस्ट्रेलियाका सर्वाधिक सफल क्रिकेटर ब्राड हज छोरा लिएर आउनुभयो । हङकङका क्रिकेटर बाबर हायात पनि परिवारै लिएर आउनुभयो र अस्ट्रेलियाका अलराउन्डर क्रिकेटर विलियम बोसिस्टो पनि आमाबुवाका साथ नेपाल आउनुभयो । 

भारतका सफल क्रिकेटर एवं कर्णाली याक्सबाट खेल्नुभएका शिखर धवनले परिवार नल्याए पनि उहाँ सगरमाथा आधार शिविर क्षेत्र पुग्नुभयो । उहाँको उक्त तस्बिर र समाचार पनि विश्वका धेरै सञ्चार माध्यमले प्रसार गरेका छन् । १५ देश ४३ जना खेलाडी आउँदा नेपाली क्रिकेटसँगै पर्यटकीय गन्तव्यको प्रचार पनि वृद्धि भएको हो । 

फ्रेन्चाइज क्रिकेट प्रतियोगिता एनपिएल क्रिकेट अन्तर्गत शनिबार उपाधिका लागि प्रतिस्पर्धा हुँदै छ । कीर्तिपुरस्थित त्रिवि अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा हुने खेलमा सुदूरपश्चिम रोयल्स र जनकपुर बोल्ट्स भिड्ने छन् । मङ्सिर १५ गतेदेखि सुरु एनपिएलको कुम्भ मेलाले नेपालको खेल पर्यटनमा नयाँ आयाम मात्रै थपेको हो । 

विश्व क्रिकेटकै चर्चित खेलाडीको उपस्थितिले नेपाली खेल र पर्यटन क्षेत्रमा ऊर्जा र उत्साह थपेको छ । प्रतियोगिताले नेपालमा पनि अन्तर्राष्ट्रियस्तरका ठुला कार्यक्रम गर्न सकिन्छ भन्ने सन्देश दिएको छ । एनपिएलमा सहभागी १५ देशका प्रख्यात खेलाडीको उपस्थितिले नेपालको पर्यटन प्रवर्धनसँगै युवा प्रतिभालाई अन्तर्राष्ट्रिय मञ्चमा प्रस्तुत गर्न प्रत्यक्ष सहयोग पु¥याएको छ । 

पर्यटनमा नयाँ आयाम

नेपाल पर्यटन बोर्डका कार्यकारी निर्देशक मणिराज लामिछाने खेलकुदमार्फत पर्यटन विकासको सम्भावना खोज्न, आन्तरिक पर्यटनलाई बढावा दिन र अन्तर्राष्ट्रिय पर्यटकलाई नेपाल ल्याउन एनपिएल कोसेढुङ्गा साबित भएको बताउनुहुन्छ । 

उहाँले भन्नुभयो, “विभिन्न देशका स्टार खेलाडीको नेपाल भ्रमणले नेपाल र यहाँका गन्तव्यलाई विश्वसामु चिनाउन निकै सकारात्मक भूमिका खेलेको छ । क्रिकेटका महान् हस्तीको आगमन र उहाँहरूले सामाजिक सञ्जालमार्फत गरेको नेपालको पर्यटन प्रवर्धनले करोडौँ रुपियाँ खर्च गरेर गरिने विज्ञापनलाई पछाडि पारेकाले आगामी दिनमा बाह्य पर्यटकको आगमनमा बढोत्तरी हुने अपेक्षा गरेका छौँ ।”

उहाँले विभिन्न देशका ४३ विदेशी खेलाडी अनुबन्धित एनपिएल संसारको प्रख्यात टेलिभिजनबाट प्रत्यक्ष प्रसारण हुँदा नेपालबारे जानकार नरहेको विश्व समुदायको ध्यान खिच्न सफल भएकाले आगामी दिनमा पनि खेल पर्यटनका क्षेत्रबाट नेपालको पर्यटन क्षेत्रलाई विश्वमा परिचित गराउन सकिने बताउनुभयो । 

साहसिक खेलको प्रवर्धन

भौगोलिक बनावट र प्राकृतिक सुन्दरताकै कारण पर्यटन व्यवसाय फस्टाएकाले नेपालमा खेलकुदमार्फत पर्यटन विकासको सम्भावना खोज्नु आवश्यक रहेको बताउँदै उहाँले बन्जीजम्प, स्काइडाइभिङ, म्याराथन र पाराग्लाइडिङ जस्ता साहसिक खेल पर्यटनमार्फत थप टेवा पु¥याउन सक्ने विश्वास व्यक्त गर्नुभयो । विश्वले निगरानी गरिरहेका खेलाडीले सामाजिक सञ्जालमार्फत नेपाल भ्रमण गरेको तस्बिर सार्वजनिक गर्दा संसारले नेपाललाई चिन्न सहयोग पु¥याएको उहाँको भनाइ छ ।

होटेल व्यवसायी उत्साही

होटेल सङ्घ नेपालका अध्यक्ष विनायक शाहले खेलकै क्रममा विदेशबाट आएका खेलाडी र देशका विभिन्न ठाउँबाट काठमाडौँ आएका खेलपारखीका कारण होटेल, हवाई यातायात र व्यापार क्षेत्रको आर्थिक गतिविधिलाई चलायमान बनाउन सफल भएको बताउनुभयो । उहाँले भन्नुभयो, “एनपिएल प्रतियोगिताले अतिथि सत्कार क्षेत्रमा सकारात्मक चहलपहल ल्याएको छ । अहिले विदेशी खेलाडी र उनीहरूका सहयोगी विभिन्न आठ वटा स्टार होटेलमा बसिरहेका छन् । यसले पाहुनालाई गर्ने सत्कार सेवा, नेपाली खाना, नेपाली संस्कृतिलाई विश्वसामु चिनाउन मद्दत गरेको छ ।”

नेपालमा राम्रो अन्तर्राष्ट्रिय स्तरको क्रिकेट रङ्गशाला भएको भए पाकिस्तान, भारतलगायतका अन्य देशका खेल नेपालमा आयोजना गरेर ठुलो सङ्ख्यामा पर्यटक भित्र्याउने सपना पूरा हुने उहाँको भनाइ छ । नेपाल क्रिकेट सङ्घ (क्यान) का अध्यक्ष चतुरबहादुर चन्दले सरकारले खेल क्षेत्रमार्फत पर्यटनका सम्भावनालाई उजागर गर्न समयसापेक्ष रूपमा नीति नियम बनाउँदै जानुपर्ने बताउनुभयो ।

Author
मीनराज भण्डारी

भण्डारी पर्यटन र नागरिक उड्डयन क्षेत्रमा कलम चलाउनुहुन्छ ।