• ५ पुस २०८१, शुक्रबार

धार्मिक एकता कायम गर्न विभिन्न अभ्यास

blog

हरि कोइराला

उर्लाबारी, पुस ५ गते । मोरङको लेटाङ नगरपालिका र नवलपरासीको पाल्हीनन्दन गाउँपालिका जनप्रतिनिधिहरूबिच शुक्रबार मोरङको लेटाङमा लैङ्गिक समानता तथा शान्ति प्रवर्द्धनका अभ्यास र अनुभव आदानप्रदान भएको छ ।

नवलपरासीको सुनवल सामुदायिक विकास केन्द्रले आयोजना गरेको कार्यक्रममा लेटाङ नगरपालिका नगर प्रमुख भूपेन्द्रकुमार लावतीले शान्ति स्थापनाका लागि अन्तरधार्मिक शान्ति सञ्जालले निर्वाह गरेको भूमिकाका विषयमा प्रकाश पार्नुभयो । लेटाङ नगरपालिका र पाल्हीनन्दन गाउँपालिकामा अन्तर धार्मिक शान्ति सञ्जालले धार्मिक एकता कायम गर्न विभिन्न अभ्यास गरिरहेका छन् । 

नगर प्रमुख लावतीले द्वन्द्वकालमा सुरु भएको अन्तरधार्मिक शान्ति सञ्जालले हाल नेपालमै पहिलो पटक पाँच वटा धर्मका अनुयायीहरूलाई एउटै स्थानमा जुटाउन अन्तरधार्मिक शान्तिपार्क निर्माण गरिरहेको जानकारी गराउनुभयो । उहाँले सबै धर्मको एउटै चाहना अहिंसा र शान्तिको कामना भन्ने नारालाई मूल मर्म बनाएर धर्मका नाममा लडाइँ गर्नुहुन्न भन्ने सन्देश दिन लेटाङ नगरपालिकाले शान्ति पार्क निर्माण गरिरहेको बताउनुभयो । 

लेटाङ नगरपालिकाका उपप्रमुख कृष्णकुमारी निरौलाले हिंसाका स्वरुपहरू बदलिए पनि घटना हुने क्रम नरोकिएको बताउनुभयो । उहाँले स्थानीय सरकार गठन भएयता लेटाङ नगरपालिकाको न्यायिक समितिमा ६३३ घटना दर्ता भई ६०९ वटा मुद्दा फर्छ्यौट भएको जानकारी दिनुभयो । निरौलाले रकम असुल उपर, लेनदेन,सम्बन्ध विच्छेद ,अंशबण्डा, पति पत्नी झगडा, जिउनी जग्गामा दाबी ,साँध सँधियार जस्ता घटना मिलाउनका लागि न्यायिक समितिमा नागरिक आउने गरेको बताउनुभयो । 

नगरले महिलालाई सेफ हाउसमा राख्ने, उपचार गर्ने, हिंसा प्रभावितलाई व्यवस्थापन गर्ने लगायतका कामहरू गरिरहेको जानकारी दिनुभयो । नगरले बालिका शिक्षा बचत कार्यक्रम अन्तर्गत हरेक किशोरीलाई १६ किस्ता नगद जम्मा गरिदिने कार्यक्रम रहेको उपप्रमुख निरौलाले जानकारी दिनुभयो । प्रति किस्ता २ हजारका दरले जम्मा हुने उक्त रकमले बालिकाले उच्च शिक्षा पढ्न पाउनेछन् ।

पाल्हीनन्दन गाउँपालिका अध्यक्ष बैजुकुमार गुप्ताले लेटाङ नगरपालिकाका असल अभ्यासलाई पछ्याउने बताउनुभयो । उहाँले सिक्न आएको बताउँदै लेटाङ नगरपालिकालाई आफ्नो गाउँपालिका आउनका लागि निम्तो दिनुभयो । उपाध्यक्ष फातुमा खातुन अन्सारीले सानो बजार भए पनि लेटाङ सुन्दर भएको बताउनुभयो । 

विगतमा दलित समुदायका विद्यार्थीलाई शिक्षकले नै भेदभाव गर्ने गरेको बताउँदै उहाँले गाउँका चार वटा वडामा अन्तरधार्मिक शान्ति परियोजना सञ्चालन भएपछि विभेद अन्त्य भएको बताउनुभयो । 

लेटाङ नगरपालिकाका प्रमुख भूपेन्द्रकुमार लावतीको सभापतित्वमा भएको कार्यक्रममा अन्तर धार्मिक शान्ति सञ्जाल सुनवलका सदस्य रन्जित शर्मा, सञ्जालका अध्यक्ष सपना अधिकारी, पाल्हीनन्दन गाउँपालिकाको वडा नं.३ का वडाध्यक्ष गोधानप्रसाद हरिजनलगायतले अनुभव साटासाट गर्नुभएको थियो।