गोरखापत्र समाचारदाता
काठमाडौँ, पुस ५ गते । शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री विद्या भट्टराईले विज्ञान र प्रविधिको क्षेत्रमा भइरहेको विकासलाई हाम्रो दैनिक जीवनसँग जोड्ने कार्यका लागि नेपाल विज्ञान तथा प्रविधि प्रज्ञा प्रतिष्ठान (नास्ट) ले नेतृत्वदायी भूमिका निर्वाह गर्नुपर्ने बताउनुभएको छ ।
नास्टको ४२ औं वार्षिकोत्सव तथा पुरस्कार वितरण समारोहलाई बिहीबार सम्बोधन गर्दै मन्त्री भट्टराईले सूचना प्रविधिको क्षेत्रमा भएका विश्वव्यापी प्रगतिलाई नेपालको शिक्षा र जीवनसँग जोड्नुपर्ने बताउनुभयो । नवप्रवर्तन प्रणालीमा एकीकृत गर्नुपर्ने र यसलाई कसरी सफल बनाउन सकिन्छ भन्ने अन्वेषण गर्नुपर्ने आजको मुख्य आवश्यकता रहेको बताउँदै मन्त्री भट्टराईले भन्नुभयो, “नवप्रवर्तनको संस्कृतिलाई बढावा दिन युवालाई वैज्ञानिक प्रयोग र अनुसन्धानमा संलग्न गराउनु पर्छ ।”
स्वदेशी प्रविधिको अपार सम्भावना रहेको बताउँदै मन्त्री भट्टराईले यसको आधुनिकीकरण गर्नु आजको आवश्यकता रहेको धारणा व्यक्त गर्नुभयो । मुलुकको सङ्घीय संरचना अनुसार नास्टले सात वटै प्रदेशमा अनुसन्धान केन्द्र स्थापना गर्ने विषय प्रशंसनीय रहेको बताउँदै मन्त्री भट्टराईले एआई तथा च्याट जिपिटीजस्ता प्लेटफर्मको वृद्धि भइरहेको अहिलेको अवस्थामा नास्टले उद्योग, शैक्षिक संस्था र अन्तर्राष्ट्रिय संस्थासँगको साझेदारीलाई बलियो बनाउनुपर्ने बताउनुभयो ।
नास्टका उपकुलपति प्राडा डिल्ली सुब्बाले वैज्ञानिक अनुसन्धानका लागि लगानी बढाउनुपर्ने बताउनुभयो । सो अवसरमा युवा तथा वैज्ञानिक क्षेत्रमा योगदान पु¥याएका विभिन्न व्यक्ति, नास्टका कर्मचारी तथा कक्षा १२ को वार्षिक परीक्षामा विज्ञान विषयमा उत्कृष्ट अङ्क हासिल गरेका विद्यार्थीलाई पुरस्कृत गरिएको थियो ।