• ३ पुस २०८१, बुधबार

तनहुँ जलविद्युत आयोजना : प्रभावितको जीविकोपार्जनलाई मद्धत

blog

तनहुँ जलविद्युत आयोजनाको कार्यालय । तस्बिर : अमरराज नहर्की

अमरराज नहर्की

तनहुँ, पुस ३ गते । तनहुँ जल विद्युत आयोजनाले प्रभावित तीन सयभन्दा बढीलाई जीविको पार्जनकाे लागि मद्धत गरेको छ । सामाजिक उत्तरदायित्व अन्तर्गत आयोजनाबाट प्रभावित बासिन्दालाई सहयोग गरेको हो ।

आयोजनाका प्रमुख श्यामजी भण्डारीले सामुदायिक विकास कार्य र जीविकोपार्जन पुर्नस्थापना कार्यक्रम अन्तर्गत हाल सम्म तीन सय भन्दा बढीलाई विभिन्न किसिमका तालिम तथा कार्यक्रमहरुमा सहभागी गराइएको जानकारी दिनुभयो । 

भण्डारीका अनुसार प्रभावितहरूलाई लक्षित गरी प्लम्विङ, इलेक्ट्रेसियन, सिलाई बुनाइ, वित्तीय साक्षरता, बाख्रापालन, तरकारी खेती लगायतका १५ वटा तालिम सञ्चालन गरि एक सय ४२ पुरुष र एक सय ६८ महिला गरी तीन सय १० जनालाई तालिम प्रदान गरिसकिएको छ । भण्डारीले भन्नुभयो, "आयोजनाले विभिन्न सामाजिक कार्यहरु निरन्तर गरिरहेको र आफ्नो भौतिक प्रगतिसँगसँगै सामाजिक दायित्व पुरा गरेको गरेका छौं ।" यस्ता तालिम अन्तर्गत आयोजनाले सोमबार व्यास नगरपालिका–५ मा आयोजनाबाट प्रभावित बासिन्दालाई दुई दिने निर्वाहमुखी कृषि र वित्तीय साक्षरता तालिम प्रदान गरेको छ । 

आयोजनाबाट प्रत्यक्ष प्रभावित घरपरिवारको आय–आर्जनमा वृद्धि गरि जीविकोपार्जनमा सुधार ल्याउने उद्देश्यले तालिम प्रदान गरिएको उहाँ बताउनुहुन्छ । व्यास नगरपालिका र ऋषिङ गाउँपालिकाका १३ महिला र दुई पुरुष गरी १५ जना प्रत्यक्ष प्रभावितलाई तालिम प्रदान गरिएको हो । 

कृषि ज्ञान केन्द्र, तनहुँका प्राविधिकले प्रशिक्षण दिनुभएको आयोजनाले जनाएको छ । प्रभावितहरूको आयआर्जन वृद्धि गरी जीवनस्तर सुधारका लागि आगामी दिनमा पनि प्रभावितहरूको आवश्यकता बमोजिम विभिन्न सीपमूलक तालिमहरू सञ्चालन गरिने आयोजनाले जनाएको छ । 

व्यास नगरपालिका वडा नम्बर ५ का अध्यक्ष विष्णुकुमार श्रेष्ठ हिमालले आयोजना प्रभावितहरूलाई लक्षित गरी सञ्चालन गरिएको तालिमले प्रभावितहरूको आयआर्जन वृद्धि गर्न सहयोग पुग्ने विश्वास व्यक्त गर्नुभयो । साथै उहाँले तालिमबाट हासिल भएका सीप र ज्ञानलाई व्यवहारिक रूपमा कार्यान्वयन गरी उद्यमशीलताको विकास गर्न आग्रह गर्नुभयो ।

कम्पनीको पुँजी संरचना तथा वित्तीय व्यवस्थापन आयोजनाको कुल लागत (प्रसारण लाइन, ग्रामीण विद्युतीकरण तथा निर्माण अवधिको व्याज समेत) ५० करोड ५० लाख अमेरिकी डलरको लागि एडिबीले  १५ करोड, जापान अन्तर्राष्ट्रिय सहयोग नियोग ९जाईका०ले १८ करोड ४० लाख, युरोपियन लगानी बैंकले ८ करोड ५० लाख र नेपाल सरकार-नेपाल विद्युत प्राधिकरणले ८ करोड ६० लाख डलर बेहोेर्ने गरी वित्तीय व्यवस्थापन गरिएको छ । 

कम्पनीले आयोजननाबाट विद्युत् उत्पादनपछि प्राप्त हुने बहाव र मादी नदीको पानीलाई प्रयोग गरी तल्लो तटीय क्षेत्रमा १२६ मेगावाटको तल्लो सेती जलविद्युत आयोजना विकास प्रक्रिया अगाडि बढाएको छ । तनहुँ जलविद्युत आयोजनाको क्षमता १४० मेगावाट रहेको छ । आयोजनाबाट विद्युत उत्पादन सुरु भएको पहिलो १० वर्षसम्म वार्षिक औसत विद्युत उत्पादन ५८ करोड ७७ लाख र त्यसपछि ४८ करोड ९९ लाख युनिट उत्पादन हुने अनुमान गरिएको छ ।