• २० असोज २०८१, आइतबार

हेलिकप्टरबाट खाद्यान्न ढुवानी

blog

हेलिकप्टरबाट ढुवानी गरिएको खाद्यान्न सिमकोट विमानस्थलमा अनलोड गरिँदै । तस्बिर : राजन रावत

हुम्ला, जेठ ७ गते । खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेडको दुई हजार क्विन्टलभन्दा बढी खाद्यान्न हेलिकप्टरबाट ढुवानी गरी सिमकोट पु-याइएको छ । यसअघि ढुवानीको जिम्मा पाएका निजी वायुसेवा कम्पनीले नेपालगञ्ज र सुर्खेतबाट खाद्यान्न ढुवानी गर्न नसकेपछि सो खाद्यान्न हेलिकप्टरबाट ढुवानी भएको हो । 

कम्पनीका हुम्ला शाखा प्रमुख कृष्णप्रसाद आचार्यका अनुसार बिहीबारसम्म दुई हजार २८७ क्विन्टल खाद्यान्न हेलिकप्टरबाट ढुवानी भएको छ । सो खाद्यान्न माउन्टेन एयरको हेलिकप्टरबाट जिल्लाकै सलिसल्लाबाट ढुवानी गरिएको हो । नेपालगञ्ज र सुर्खेतमा रहेको खाद्यान्न ढुवानीको जिम्मा पाएको सिम्रिक एयरले हुम्लाकै सलिसल्लासम्म गाडीमै ढुवानी गर्ने गरेको छ । सो स्थानबाट सदरमुकामसम्म सडक नजोडिएका कारण हेलिकप्टरबाट ढुवानी गरिएको उहाँले बताउनुभयो ।

 हेलिकप्टरबाट खाद्यान्न ढुवानी नभएको भए जिल्लामा खाद्यान्न समस्या देखिने बताउँदै उहाँले अहिले हेलिकप्टरले गर्दा खाद्यान्न मौज्दात सन्तोषजनक रहेको जानकारी दिनुभयो । हेलिकप्टरले सलिसल्लाबाट बाह्र मिनेटको उडान गर्नुपर्छ । प्रतिउडान छ क्विन्टल खाद्यान्न ढुवानी हुने गरेको छ । मौसमले साथ दिएका दिन २० वटा उडानसम्म हुने गरेको छ । 

हेलिकप्टरले प्रतिकेजी एक सय रुपियाँमा खाद्यान्न ढुवानी गर्ने गरेको छ जबकी खाद्यान्न ढुवानीको जिम्मा पाएको सिम्रिक एयरले नेपालगञ्जमा प्रतिकेजी १०८ र सुर्खेतका लागि प्रतिकेजी १०५ रुपियाँमा ढुवानी गर्ने सम्झौता गरेको छ । यस वर्ष हवाई मार्गको खाद्यान्न शाखाका लागि सुर्खेतबाट छ हजार र नेपालगञ्जबाट चार हजार क्विन्टल कोटा रहेको छ । 

त्यसमध्ये चार हजार २८९ क्विन्टल खाद्यान्न नेपालगञ्ज र सुर्खेतबाट जहाजले यसअघि नै ढुवानी गरेको छ । अब बाँकी खाद्यान्न पनि हेलिकप्टरले नै ढुवानी गर्ने जनाइएको छ ।