• १ पुस २०८१, सोमबार

रोङमा तिते करेलाको ब्राण्डिङ

blog

प्रेम अधिकारी 

पशुपतिनगर(इलाम), पुस १ गते । गुन्द्रुक, सिस्नो, बेसार,मह, चिया, कुचो जस्ता कृषिजन्य बस्तुको ब्राण्डिङ गरी बजारीकरण गरीरहेको इलामको रोङ गाउँपालिकाले करेलाको ब्राण्डिङ गरी बजारमा ल्याएको छ । किसानले उत्पादन गरेको बस्तुलाई व्यवस्थित रुपमा ब्राण्डिङ गरी बजारमा लगेर उचित मूल्यमा बिक्री गर्नका लागि गाउँपालिकाले करेलाको ब्राण्डिङ गरी बजारमा ल्याएको हो । 

गाउँपालिकाले करेलाको ब्राण्डिङ (सुकुटी निर्माण) गरी बजारमा ल्याएको गाउँपालिका अध्यक्ष मनिकुमार स्याङ्बोले जानकारी दिनुभयो । बेमौसममा पनि उपभोक्ताको आवश्यक्क्तालाई मध्यनजर गरेर तिते करेलालाई सुकाएर प्याकेजिङ्ग, ब्राण्डिङ्ग गरी बजारमा ल्याएको अध्यक्ष स्याङ्बोले जानकारी दिनुभयो । 

गाउँपालिकाले यो वर्ष २०० किलोग्राम सुख्खा करेला तयार गरी बजारमा ल्याइएको छ । ‘करेलाको अध्ययन, अनुसन्धान गर्दा अत्यान्तै सफल भएको छ, अर्को बजार ठूलो मात्रामा उत्पादन वृद्धि भएर जाने छ,’ अध्यक्ष स्याङ्बोले भन्नुभयो । 

बजार मूल्य कम हुँदा एक सिजनमा ५० हजार किलोग्राम काचो करेला प्रशोधन गर्न सक्ने उद्योग गाउँपालिकाले निर्माण गरिरहेको छ । अब आउने सिजनबाट किसानको उत्पादित करेला प्रशोधन गर्न सक्ने अवस्थामा गाउँपालिका रहेको स्याङ्वोले बताउनुभयो । रोङ तिते करेलालाई गुन्द्रुकसँग मोलेर अचारको रुपमा खाना पनि  सकिन्छ । प्याकेजिङ भएको तिते करेलालाई तातोपानीले ५÷१० मिनेट भिजाएर पुरानै स्वरुप तथा स्वादमा लगेर विभिन्न तरिकाले पकाएर खाना सकिनेछ ।

रोङ गाउँपालिकाका सबै स्थानमा उत्पादन गर्न सकिने करेला पालिकाले नै प्रसोधन गरेर बजारीकरणमा लागेपछि यसको खेतीमा किसानको उत्साह बढेको करेला खेती गर्दै आउनु भएका का रोङ ३ प्युरेका लल्मी लाप्चाले बताउनुभयो । गाउँपालिकाले यस अघि नै रोङ गुन्द्रुक, सिस्नो, बेसार, मह, चिया, कुचो जस्ता कृषिजन्य बस्तुको ब्राण्डिङ गरी बजारीकरण गरीरहेको छ र रोङको गुन्द्रुक र मह अहिले माग बढी भए पछि उपभोक्ताको आवश्यक्ता पुरा गर्न कठिन छ । 

गुन्द्रुक र मह उत्पादन कम भएर माग बढी भएपछि बजारमा अभाव भएको पाइन्छ ।