राधाकृष्ण डुम्रे
वालिङ, पुस १ गते । पछिल्लो समय स्याङ्जाका कृषकहरु कोदो उत्पादन तर्फ आकर्षित हुँदै गएका छन् । माग बढेसँगै कृषकहरु कोदो खेतीतर्फ आकर्षित भएका हुन् । राम्रो मूल्य पाउने र उत्पादन गर्न पनि सजिलो भएकाले कोदो खेतीतर्फ आकर्षण बढेको जिल्ला कृषि ज्ञान केन्द्रले जनाएको छ ।
वालिङ नगरपालिका–३ का नन्दबहादुर गुरुङले १० मुरी कोदो भित्र्याउनुभयो । अझै केही कोदो ठटाउने क्रममा नै छ । यो वर्ष २० मुरीभन्दा धेरै कोदो उत्पादन हुने उहाँको भनाइ छ । कोदोको माग बढेपछि बाँझो रहेको बारीमा पनि कोदो खेती गरेको गुरुङको भनाइ छ ।
जिल्लामा कोदोखेती विस्तार र रैथानेबाली संरक्षणका लागि स्थानीय तहले समेत काम गर्दै आएका छन् । पुतली बजार नगरपालिका वडा नं.९ ले कोदोको उत्पादनको आधारमा अनुदान दिँदै आएको छ । वडा अध्यक्ष लिलबहादुर गुरुङका अनुसार प्रति पाथी कोदो ५ अनुदान दिइएको छ । वडामा विगतका वर्षभन्दा यो वर्ष धेरै कोदो उत्पादन हुने गुरुङले जानकारी दिनुभयो ।
माग बढेपछि केही वर्षदेखि बाँझो रहेको जग्गामा कोदो खेती गर्नेको सङ्ख्यामा वृद्धि भएको जिल्ला कृषि ज्ञान केन्द्रका प्रमुख विनोद हमालले जानकरी दिनुभयो । यो वर्ष कोदोको उत्पादन बढ्ने उहाँको भनाइ छ । जिल्लाका ११ वटै स्थानीय तहमा क्रप कटिङ को काम भइरहेको भन्दै हमालले प्रारम्भिक विवरण अनुसार उत्पादन बढेको बताउनुभयो ।
रैथाने कोदो खेती गर्दै आएका किसानका लागि भने उत्पादन बढाउन तिनै तहका सरकारले प्रोत्साहनका विभिन्न कार्यक्रम सञ्चालन गर्न कृषि ज्ञान केन्द्रको सुझाव छ ।
गाउँगाउँमा सञ्चालित होमस्टे (घरवास) मा पनि कोदोको परिकारलाई प्राथमिकतामा राख्ने गरेको पाइएको छ । चिकित्सा विज्ञानले खाद्यान्नका रूपमा र बिरामीका लागि कोदो राम्रो मानिने चिकित्सकको भनाइ छ । उत्पादित कोदो बिक्री गर्नाका साथै घरेलु मदिरा उत्पादन गर्ने, ढिँडो र रोटी बनाएर खान बजारमा माग बढिरहेको हो ।