काठमाडौं, पुस १ गते । नेपालमा अङ्ग प्रत्यारोपण गर्नुपर्ने बिरामी तथा दान गर्ने दाताले अब अनलाइनबाटै जानकारी लिन सक्ने भएका छन् । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले स्वास्थ्य सेवा विभाग टेकु तथा शहीद धर्मभक्त राष्ट्रिय प्रत्यारोपण केन्द्रको संयुक्त नियन्त्रणमा रहने गरी थालेको अनलाइन सेवाको स्वास्थ्यमन्त्री प्रदीप पौडेलले उद्घाटन गरेसँगै यो सम्भव भएको हो ।
अनलाइनमार्फत अङ्गदान गर्ने जोकोहीले दर्ता गराउन सकिने तथा लिन चाहनेले जानकारीसमेत पाउने केन्द्रका प्रमुख डा. पुकारचन्द्र श्रेष्ठले जानकारी दिनुभयो ।
मस्तिष्क मृत्युपश्चात् तत्काल जानकारी अनलाइनमा राखिने भएकाले प्रत्यारोपण कुरिरहेका बिरामी उपचाररत अस्पतालले समेत तत्काल अङ्ग प्रत्यारोपण गर्न जानकारी प्राप्त गर्ने केन्द्रका प्रमुख डा. श्रेष्ठले बताउनुभयो । डा.श्रेष्ठका अनुसार दाता तथा बिरामीले केन्द्रको वेबसाइट एसडीएनटिसी डट जिओभी डट एनपी मार्फत जानकारी लिन सक्ने व्यवस्था गरिएको छ ।
सेवाको उद्घाटन गर्दै मन्त्री पौडेलले सरकारले नागरिकहरुका लागि निःशुल्क मिर्गौला प्रत्यारोपण तथा डायलसिस सेवा उपलब्ध गराइरहेको जिकिर गर्दै अब धेरैको ज्यान बचाउन नागरिकहरुका लागि मस्तिष्क मृत्युपश्चात् अङ्गदान प्रोत्साहन गर्न कार्यक्रम सुरुवात गरेको बताउनुभयो ।
मन्त्री पौडेलले भन्नुभयो, ‘‘देशमा ९८ प्रतिशत मिर्गौला तथा ९० प्रतिशत नागरिक फोक्सो प्रत्यारोपणपछि सामान्य जीवन बाँचिरहेका छन् । हामी प्रत्यारोपण सेवा अझ विस्तार गर्न प्रतिबद्ध छौं ।’’
मन्त्री पौडेलले अहिले भक्तपुरको केन्द्र बाहेक पोखरा र सुर्खेतमा उपलब्ध प्रत्यारोपण सेवा यसै वर्ष बाँकी प्रदेशमा विस्तार गर्ने लक्ष्यसाथ काम गरिरहेको जानकारी दिनुभयो ।
डा.कल्पना श्रेष्ठले दाता र लिन चाहने बिरामी र अस्पताल बढ्दै जाँदा अनलाइन प्रणालीले ताजा जानकारी दिने भएकाले यसले धेरैको ज्यान बचाउन मद्दत गर्ने विश्वास लिनुभएको छ । उहाँले भन्नुभयो, ‘‘एकीकृत अनलाइन प्रणालीले अस्पताल र बिरामी दुवैलाई धेरै सजिलो बनाउँछ ।’’ १२ वर्षमा शहीद धर्मभक्त केन्द्रमा एक हजार तीन सय ३५ मिर्गौला तथा ३० जनाको फोक्सो प्रत्यारोपण भइसकेको छ ।
केन्द्रले वर्षेनी तीन हजार अपेक्षितमध्ये दुई सय जनाको मात्र मिर्गौला प्रत्यारोपण हुन सकेको छ । दाता अभावमा अन्य अस्पतालले एक सय जनालाई मात्र अङ्ग प्रत्यारोपण गर्न सफल भएका छन् ।
स्वास्थ्यमन्त्री पौडेलले मस्तिष्क मृत्युपछिका दाता बढाउन दान अभियान प्रबद्र्धन तथा प्रत्यारोपण सेवा विस्तार गर्ने नीति लिनुभएको छ । मस्तिष्क मृत्यु भएका नागरिकबाट अङ्गदान प्रवर्धनका लागि भन्दै हालै मात्र दाताको परिवारलाई दुई लाख तथा ७५ हजार अस्पतालका लागि दिने निर्णय मन्त्री पौडेलले गर्नुभएको थियो ।
मन्त्री पौडेलका अनुसार हाल भक्तपुरस्थित केन्द्रबाहेक सरकारीस्तरमा पोखरा स्वास्थ्यविज्ञान प्रतिष्ठान र सुर्खेत प्रादेशिक अस्पतालले अङ्ग प्रत्यारोपण सेवा दिइरहेकामा भेरी अस्पताल घोराही दाङ, सुदूरपश्चिम प्रदेशमा धनगढीस्थित सेती प्रादेशिक अस्पताल तथा बागमतीको भरतपुर अस्पतालमा समेत मानव अङ्ग प्रत्यारोपण सेवा विस्तार गर्ने लक्ष्य लिएको छ । कोशी अस्पताल विराटनगरमा केही समयभित्रै यो सेवा थाल्ने तयारी गरिएको छ ।