• १ पुस २०८१, सोमबार

सप्तकोशीको पानी नहरतर्फ ल्याउन समस्या

blog

हरिप्रसाद कोइराला 

उर्लाबारी, पुस १ गते । सप्तकोशी नदीको पानी किसानका गरा गरामा पुर्‍याउने गरी सन् १९७५ मा भारत सरकारले निर्माण गरिदिएको मुलुककै ठुलो सुनसरी मोरङ सिंचाइ योजनाका अधिकांश संरचना जीर्ण भएका छन् । आधा शताब्दी पहिले निर्माण भएका संरचनाको आयु सकिएर जीर्ण हुँदा हरेक वर्ष सरकारले मर्मतसम्भार गर्दै मूल नहर र २१ वटा शाखा नहरबाट किसानलाई पानी वितरण गरिरहेको छ ।

सिंचाइ योजनाले सुनसरी र मोरङको ६८ हजार हेक्टर क्षेत्रफलमा सिंचाइ सुविधा पुर्‍याएको छ । तर संरचना जीर्ण हुँदै जाँदा वर्षायाममा आउने बाढीले कति बेला साइफन र नहर माथिका पुल भत्काउँछ भन्ने चिन्ता सुरु भएको छ । जीर्ण भएको लोहोन्द्रा खोलाको पुल र पुल मुनिको साइफन २०७४ साउन २८ गतेको बाढीले भत्काएपछि  खोला पूर्वका किसानले ६ वर्षसम्म आकासे पानीको भरमा खेती गर्नुपरेको थियो । बाढीले पुलसँगै साइफन भत्काएर बगाउँदा ३४ करोड रुपियाँ क्षति भएको थियो । नहरको पानी जाने कुलो (साइफन) भत्किएपछि मोरङको लोहोन्द्रा पूर्वको ११ हजार हेक्टर जमिनमा सिंचाइ हुन सकेको थिएन । 

हाल आएर कोशीबाट केरौनसम्मको ५३ किलोमिटर नहर क्षेत्रका अधिकांश पुल, साइफन, एक्वाडक्ट, कन्ट्रोल क्रस रेगुलेर जीर्ण भइसकेका छन् । सुनसरी मोरङ सिंचाइ आयोजना प्रमुख मनोहर साहले भन्नुभयो, "५० वर्षअघि जनसङ्ख्या र खेती क्षेत्र कम थियो । त्यसबेला १५ देखि २० प्रतिशत क्षेत्रमा गहुँ,तोरी, मकै खेती हुन्थ्यो । हाल आएर ८० देखि ९० प्रतिशत जग्गामा खेती हुन थालेको छ । त्यसैले हिउँदमा पानीको अभाव भएको हो । मुहानमा पानी नै हुँदैन । कोशीको पानीे पूर्वतर्फ नधकेलेसम्म मुहानमा पानी आउने अवस्था छैन । विगतमा जति पानी आउँथ्यो ,त्यसैले प्रशस्त हुन्थ्यो । हाल आएर गहुँ र मकै खेती धेरै हुन थालेको छ । त्यसैले दीर्घकालीन सुधारको आवश्यकता भएको हो ।" 

सन् १९७५ मा भारतले कोशी नदीको पूर्वपट्टी चतरामा प्रतिसेकेण्ड ४५ दशमलव ३ क्यूमेक्स पानी फ्याल्ने साइड इन्टेक बनाएर ५३ किलोमिटर लामो मूल नहर ११ वटा शाखा नहर र ३६ वटा माइनर नहर निर्माण गरेर सरकारलाई हस्तान्तरण गरेको हो । ०३५ सालदेखि सरकारले विश्व बैंकको ऋण सहयोगमा चरणबद्ध रुपमा योजनाको विकास गर्दै अहिलेको अवस्थामा ल्याएको हो । 

हाल प्रतिसेकेण्ड ६० क्यूमेक्स पानी बग्ने क्षमताको योजनाको मुल नहरका संरचना जीर्ण हुँदा बर्खायाममा संरचना जोगाउनै समस्या भएको छ । सप्तकोशी नदी एसियाकै बढी वालुवा फाल्ने दोस्रो नदी हो । इन्टेकबाट मूल नहरमा पसेको बालुवा निकाल्ने दुई वटा मेसिनमध्ये एउटा बिग्रिएर थन्किएको वर्षौं भयो । एउटा मेसिनले १८ घण्टासम्म काम गर्दा पनि बालुवा निकालिसक्दैन । जसले गर्दा नहर पुरिँदै गएको छ । नदीमा पानीको सतह घट्ने क्रम र नहर पुरिने क्रम बढेकोले तत्काल सप्तकोशीमा ‘वेडवार’(पानी छेक्ने साधारण बाँध) निर्माण गर्नुपर्ने भएको छ ।

चतरा मूल नहर जलउपभोक्ता संस्थाका सचिव खङ्गलाल साहले भन्नुभयो, "हिउँदे बालीका लागि प्रतिसेकेण्ड न्यूनतम ३० क्यूसेक पानी आवश्यक पर्छ । तर योजनाको मुहानमा प्रतिसेकेण्ड ६ देखि १० क्यूमेक्स मात्र पानी उपलब्ध हुने गरेको छ । सप्तकोशीमा नयाँ पुल बनाउँदा पानी उदयपुर(पश्चिम) तर्फ ढल्क्यो । पूर्वतर्फको इन्टेकमा पानी नै छैन । स्परहरू भएको ठाउँमा कमिला कुद्न थालेका थालेका छन् ।" साहले भन्नुभयो, "वेडवार लगाएर पानी नछेक्ने हो भने सुनसरी र मोरङको उत्पादन ६० प्रतिशतले घट्नेछ ।" साहले खाद्य सुरक्षा र खाद्यान्यको उत्पादनलाई यही स्थितिमा राख्न पनि सरकारले आयोजनालाई महत्वका साथ हेर्नुपर्ने बताउनुभयो । 

पाँच दशक पहिला इँटले बनेका प्रायः सबै संरचना जीर्ण छन् । ती सबैलाई मर्मत र टालटुल गरेर सञ्चालन गरिएको छ । आयोजना प्रमुख साहले भन्नुभयो, "योजनाका सबै संरचना प्रतिस्थापन गर्न अर्बौं रकम लाग्छ । यो सरकारको पहुँचभन्दा बाहिरको कुरा हो ।" उहाँले वार्षिक ५० करोड रुपियाँँ मर्मत र संरचना निर्माणमा खर्च भइरहेको बताउनुभयो । साहका अनुसार हाल १ अर्ब ७ करोडको योजना निर्माणाधीन अवस्थामा छन् । सप्तकोशीबाट आउने पानीको स्रोत घटेपछि स्थानीय साना खोला नाला ,सीमसारको पानी मूल नहरमा हाल्नका लागि लोहोन्द्रामा काम भइरहेको छ । 

५३ किलोमिटर लामो मूल नहरमा ८ वाट सुपर प्यासेज, एक्वाडक्ट ३६ वटा, साइफन दुईवटा, कन्ट्रोल क्रस रेगुलेर १६ वटा छन् । ती सबै जीर्ण छन् । तिनैको मर्मत र नयाँ संरचना निर्माणमा वार्षिक ५० करोड रुपियाँ खर्च हुँदै आएको आयोजना प्रमुख मनोहर साह बताउनुहुन्छ । 

हिउँदमा मुहानको पानी फर्काउन योजनाले अहिलेसम्म कोसीको पश्चिमतर्फ करिब ६० करोडको लागतमा ८ वटा स्पर निर्माण गरिसकेको छ । त्यो स्परले पनि काम नदिएपछि यसपाली मूल नहर उपभोक्ता समितिले वेडवार बनाएर पानी इन्टेकतर्फ हाल्ने योजना अघि सारेको छ । 

मूल नहरका अध्यक्ष तपन दासले भन्नुभयो, "पानी उदयपुरतर्फ ढल्केको छ । एकातर्फ सुनकोशी मरिण डाइर्भसन निर्माण भएपछि सप्तकोशीमा ६७ प्रतिशत पानी स्वतः घट्नेछ ।" बाँकी पानी पनि उदयपु तर्फ गएपछि सुनसरी मोरङ सिंचाइ आयोजना बन्द गरिदिए हुन्छ । उहाँले देशको कुल अन्न उत्पादनको ४५ प्रतिशत हिस्सा झापा, मोरङ र सुनसरीसँग निर्भर भएको बताउँदै यही क्षेत्रमा पानीको अभाव भयो भने खाद्यान्नको परनिर्भरता अझ बढ्ने उल्लेख गर्नुभयो ।