• १ पुस २०८१, सोमबार

किक बक्सिङमा आर्मी टिम च्याम्पियन

blog

प्रतियोगिताको उद्घाटन गरिँदै ।

काठमाडौँ, पुस १ गते । नेपाल आर्मी छैटौँ गणेशमान सिंह स्मृति राष्ट्रिय खुला किक बक्सिङ प्रतियोगितामा टिम च्याम्पियन बनेको छ ।

ललितपुर जिल्ला किक बक्सिङ सङ्घको आयोजनामा चापागाउँमा भएको प्रतियोगितामा आर्मी तीन स्वर्ण, चार रजत र पाँच कांस्यसाथ टिम च्याम्पियन बनेको हो । 

गोदावरी नगरपालिकाको मुख्य प्रायोजनमा भएको प्रतियोगितामा आयोजक तीन स्वर्ण, एक रजत र दुई कांस्यसाथ दोश्रो भयो । तेश्रो स्थानको एपीएफले दुई स्वर्ण, एक रजत र तीन कांस्य जित्यो । शीर्ष तीन स्थानमा रहने टिमले क्रमशः एक लाख, ५० हजार र २५ हजार रुपियाँ पुरस्कार पाए ।

प्रतियोगिताको पुरुषमा एपीएफका अमित महर्जन तथा महिलामा आयोजककी करिष्मा कार्की उत्कृष्ट खेलाडी घोषित हुनुभयो । दुवैले जनही २५ हजार रुपियाँ र अनर मोबाइल हात पार्नुभयो । मुवाँथाईका ओमकार मगर उदीयमान खेलाडी चुनिनुभयो ।  साइशन फुल कन्ट्याक्टले अनुशासित टिमको ट्रफी जित्यो । 

तीनदिने प्रतियोगितामा तीन विभागीय टोली नेपाल प्रहरी, नेपाल आर्मी, एपीएफ र सातै प्रदेशका क्लबका गरी एक सय तीन पुरुष र ४९ महिला खेलाडीले विभिन्न ११ स्पर्धामा प्रतिस्पर्धा गरेका थिए ।

प्रत्येक तौलसमूहका स्वर्ण विजेतालाई ३० हजार, उपविजेतालाई १५ हजार र तेस्रोलाई आठ हजार रुपियाँ पुरस्कार प्रदान गरियो ।