• १६ वैशाख २०८२, मङ्गलबार

विमानस्थल स्तरोन्नति युद्धस्तरमा

blog

गोरखापत्र समाचारदाता

काठमाडौँ, पुस १ गते । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल स्तरोन्नतिको काम एक महिनामा २५ प्रतिशत पूरा भएको छ । नेपाल नागरिक उड्डयन प्राधिकरण अन्तर्गतको हवाई यातायात क्षमता अभिवृद्धि आयोजनाका अनुसार विमानस्थलको क्षमता अभिवृद्धिका लागि गत कात्तिक २३ गतेदेखि सुरु भएको धावनमार्गनजिकको काम २५ प्रतिशत पूरा भएको हो । आयोजनाको काम सकिएपछि विमानस्थलको क्षमता २५ प्रतिशतसम्म बढ्ने अनुमान गरिएको छ ।

आयोजना प्रमुख दीपेन्द्र श्रेष्ठले भन्नुभयो, “राति दैनिक १० घण्टा उडान बन्द गरेर फाउन्डेसनको काम पूरा गरेका छौँ, जुन निकै महत्वपूर्ण काम हो । दिउँसो विमानस्थलको पेरिमिटर सडक (धावनमार्गदेखि ७५ मिटर) बाहिर र राति धावनमार्गसँग जोडिएको काम युद्धस्तरमा भइरहेको छ ।” विमानस्थलको पेरिमिटर सडकबाहिरको काम तीन सिफ्टमा, रातिको कामका लागि करिब तीन सय जनशक्ति तथा उपकरण परिचालित छन् । अहिलेको कार्य प्रगति अनुसार माघ १९ गतेदेखि दैनिक थप दुई घण्टा उडान सञ्चालनमा ल्याउने र चैत १८ गते (लक्ष्य) अघि नै विमानस्थल पूर्ण सञ्चालनमा ल्याउने तयारी रहेको उहाँले बताउनु भयो ।

आयोजना अन्तर्गत पेरिमिटर सडकबाहिर विमानस्थलको दक्षिण–पश्चिमतर्फ समानान्तर ट्याक्सी वे, उत्तरतर्फको इन्टरनेसनल एप्रोन र विमानस्थलको (ह्याङ्गर) पूर्वतर्फको एप्रोन विस्तारको काम भइरहेको छ । करिब १५ अर्ब रुपियाँ खर्च हुने अनुमान गरिएको यस आयोजनामा धावनमार्गको विभिन्न सात ठाउँमा समानान्तर ट्याक्सी वे जोड्नेलगायतका काम भइरहेका छन् । यसका लागि तीन वटा फरक फरक विदेशी निर्माण कम्पनीले काम गरिरहेका छन् । 

हाल त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको वार्षिक क्षमता ८० देखि ८५ लाख जना हवाई यात्रु रहेकोमा २०८२ सालको सुरुदेखि वार्षिक थप १५ लाख जनासम्म चाप धान्न सक्ने नागरिक उड्डयन प्राधिकरणले जनाएको छ । यस अघि २०७५ सालमा झन्डै चार महिना दैनिक १० घण्टा र २०७७ सालमा विमास्थलको दक्षिणतर्फ (कोटेश्वर क्षेत्र रनवे जिरो–टु) धावनमार्ग विस्तार गर्दा दैनिक १२ घण्टा उडान बन्द गरिएको थियो ।