भुुवन कार्की
रुपन्देही, मङ्सिर २९ गते। नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले माओवादी केन्द्र अब २०६४ सालको जस्तै पहिलो शक्ति बनेर आउने दाबी गर्नुभएको छ। दुई पार्टी एकता तथा प्रशिक्षण कार्यक्रमलाई शनिबार रुपन्देहीको तिलोत्तमामा सम्बोधन गर्दै प्रचण्डले माओवादी केन्द्र सिद्धियो भन्नेलाई आगामी निर्वाचनबाट ०६४ कै अवस्थामा पुर्याएर देखाइदिने उद्घोष गर्नुभयो।
प्रचण्डले भन्नुभयो, ‘माओवादी र प्रचण्डपथ सिद्धियो भन्नेलाई आउँदो २०८४ को निर्वाचनबाट देखाइदिने छौँ, आउदो निर्वाचनमा माओवादी २०६४ कै अवस्थामा फर्किने छ’, उहाँले थप्नुभयो, ‘माओवादी सिद्धियो भन्नेलाई उप–चुनावले संकेत देखाइसकेको छ, विगतमा भएका केही त्रुटिलाई आत्मसमीक्षा र सुधार गर्दै नयाँ प्रतिबद्धताका साथ गुणात्मक फड्को मार्ने गरी हामी जनतातिर फर्किन्छौ।’
अहिलेको सरकार अप्राकृतिक र अध्यारो कोठाबाट बनेको बताउँदै यो सरकारको काम भ्रष्टचारीलाई बचाउने र राम्रो गर्नेलाई सताउने रहेको उहाँको भनाइ थियो।
विचार, इमानदारमा को राम्रो छ भन्ने कुरा नेपाली जनताले बुझिसकेको भन्दै अहिलेको सत्तारुढ दलका नेता जिल्लामा जाँदा जनताले उनका विरुद्ध नारा लगाउन थालेको उहाँको भनाइ थियो। पार्टी नयाँ प्रतिबद्धताका साथ जनतामा जाने उहाँले प्रष्ट पार्नुभयो।
आफू प्रधानमन्त्री भएको १८ महिनामा देशको लय गुमाएको अर्थतन्त्रलाई सही मार्गमा ल्याएको प्रचण्डले दाबी गर्नुभयो। उहाँले भन्नुभयो, ‘मैले दुई छिमेकी राष्ट्र भारत र चीनका भ्रमणका क्रममा गरेको निर्णय ऐतिहासिक र दुरगामी छन्। अन्तर्राष्ट्रिय स्तरमा नेपालको छवि माथि पुगेको छ। जनतामा नयाँ आशा र भरोसा पैदा भएको छ।’
पहिलो पटक प्रधानमन्त्री हुँदा धेरै अनुभव नभए पनि भौतिक पूर्वाधारको क्षेत्रमा मध्यपहाडी र पुष्पलाल मार्ग आफ्नै पहलमा अघि बढेको उहाँले बताउनुभयो । दैनिक १८ घण्टासम्मको लोडसेडिङबाट आक्रान्त देशलाई उन्मुक्ति गर्न कुलमान जस्ता विज्ञलाई विद्युत प्राधिकरणमा ल्याएर लोडसेडिङ मुक्त देश बनाएको उहाँको दाबी छ।
कार्यक्रममा जनमुक्ति पार्टी माओवादी केन्द्रमा समाहित भएको घोषणा गरियो। घोषणापछि बोल्दै जनमुक्ति पार्टीका महासचिव राम परियारले प्रचण्ड एक युगपुरुष रहेको भन्दै उहाँको नेतृत्वमा अब देश समाजवादतर्फ उन्मुख हुने विचार वयक्त गर्नुभयो। माओवादी केन्द्रका केन्द्रीय सचिव चक्रपाणि खनालले माओवादीले भ्रष्टाचारविरुद्धको अभियान थालेकाले सत्ताबाट हट्नुपरेको बताउँदै अब जनताको साथ लिएर आगामी निर्वाचनमा पहिलो पार्टी बन्ने दाबी गर्नुभयो।
माओवादी केन्द्र रुपन्देही जिल्ला समन्वय समितिले आयोजना गरेको कार्यक्रममा माओवादी नेताहरु तिलक परियार, सोनिया यादव, जिल्ला संयोजक निर्मल जीसी लगायतले धारणा राख्नुभएको छ।