• ११ पुस २०८१, बिहिबार

खुम्बु क्षेत्रमा उडान नरोक्न ध्यानाकर्षण

blog

गोरखापत्र समाचारदाता

काठमाडौँ, मङ्सिर २९ गते । नेपाल नागरिक उड्डयन प्राधिकरणले खुम्बु क्षेत्रमा जारी रहेका उडान रोक्ने सगरमाथा राष्ट्रिय निकुञ्ज कार्यालयको निर्णयप्रति गम्भीर ध्यानाकर्षण गराएको छ । प्राधिकरणले शुक्रबार एक सूचना जारी गर्दै निकुञ्जले हेलिकोप्टर उडानमा रोक लगाउन गरेको परिपत्रबारे ध्यानाकर्षण गराएको हो ।

प्राधिकरणका सूचना अधिकारी ज्ञानेन्द्र भुलले भन्नुभयो, “हाम्रो कानुन र नागरिक उड्डयन प्राधिकरणको ऐन अनुसार मन्त्रीपरिषद्ले घोषणा गरेको निषेधित क्षेत्रमा उडान अनुमति दिने वा रोक्नेबारे अधिकार सरकारलाई हुन्छ । अन्य क्षेत्रमा उडान अनुमति दिने कि नदिने भन्ने सम्पूर्ण अधिकार प्राधिकरणलाई हुन्छ । निकुञ्ज वा आरक्षलाई उडान रोक्ने अधिकार नभएकाले हेलिकोप्टर कम्पनीलाई उडान जारी राख्न निर्देशन दिएका छौँ ।”

यसअघि वायु सेवा सञ्चालक सङ्घले पनि खुम्बु क्षेत्रमा जारी उडान नरोक्ने जनाएको छ । निकुञ्जले हेलिकोप्टर उडानमा रोक लगाउने परिपत्र गरेपछि सङ्घले पनि त्यसमा आपत्ति जनाउँदै उडान जारी राख्ने बताएको हो ।  

सङ्घले प्रेस विज्ञप्ति जारी गर्दै संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालय र उड्डयन प्राधिकरणबाट स्वीकृति लिई हेलिकोप्टरले उक्त क्षेत्रमा उडान गरिरहेका सन्दर्भमा निकुञ्जले आफ्नो क्षेत्राधिकारबाहिर गएर उडानमा लगाएको रोक पालना नगर्ने बताएको छ । सदस्य वायु सेवा कम्पनीले हाल उडान गरिरहेका गन्तव्यमा प्राधिकरणसँग अनुमति लिई उडानलाई निरन्तरता दिने सङ्घले उल्लेख गरेको छ ।

निकुञ्जले गत बुधबार हेलिकोप्टर उडानले हुने अत्यधिक ध्वनि प्रदूषण भएको र निकुञ्जको मध्यवर्ती क्षेत्रमा पर्ने बस्ती तथा कोर क्षेत्रमा रहेका वन्यजन्तुको बासस्थानमा असर परेको भन्दै आउँदो पुस १७ देखि व्यावसायिक हेलिकोप्टर उडानलाई पूर्ण रूपमा रोक लगाएको थियो ।