• ३ असार २०८१, सोमबार

पेशागत महासङ्घ २८ औँ वर्षमा प्रवेश

blog

गोरखापत्र अनलाइन

काठमाडौँ, जेठ ६ गते । औपचारिक र अनौपचारिक क्षेत्रमा क्रियाशील पेशाकर्मीहरुको छाता सङ्गठन नेपाल पेशागत महासङ्घ (कोनेप) स्थापनाको २८ औँ वर्षमा प्रवेश गरेको छ । महासङ्घको केन्द्रीय कार्यालय थापाथलीमा आज आयोजित अठ्ठाइसौँ स्थापना दिवस तथा शुभकामना आदानप्रदान कार्यक्रममा महासङ्घका संयोजक एवं नेकपा (एमाले) का केन्द्रीय सदस्य बाबुराम थापाले पेशागत मर्यादा, स्वाभिमान र सुरक्षाका लागि सङ्घर्षशील हुँदै ट्रेड युनियन अधिकार र बौद्धिक श्रमिकका हितका सवालमा बुलन्द आवाज उठाउनुपर्नेमा जोड दिनुभयो । 

महासङ्घका सल्लाहकार कुलबहादुर आचार्यले पेशागत हक, हित र सुरक्षाका सवालमा एकताबद्ध भएर लाग्न शुभकामना दिनुभयो । महासङ्घका सचिव डा.ऋषिकेश पन्थीका अनुसार महासङ्घमा हाल २९ आबद्ध घटक (राष्ट्रिय सङ्घ), ४३ प्रतिष्ठान कमिटी र छ लाख ३० हजार साधारण सदस्य छन् । महासङ्घमा निजामति कर्मचारी, शिक्षक, वित्तीय कर्मचारी, स्थानीय तह तथा स्वास्य क्षेत्रका कर्मचारी, विश्वविद्यालयका कर्मचारी, इञ्जिनीयरिङ पेशाकर्मी, सामुदायिक क्याम्पसका प्राध्यापक, सार्वजनिक संस्थाका कर्मचारीलगायत आबद्ध छन् ।

ट्रेड युनियन अधिकार र हितको प्राप्ति तथा संरक्षण गर्दै पेशागत सङ्घ—सङ्गठनमा आवद्ध शक्तिलाई एकापसमा समायोजन तथा सबलीकरण गरी राष्ट्रको सेवामा समर्पित भई पेशागत दक्षता वृद्धिका लागि विसं. २०५२ जेठ ५ गते  सो महासङ्घको स्थापना भएको थियो । शुरुमा पेशागत ऐक्यबद्धता मञ्च नेपालको नामबाट स्थापित सो संस्थाको २०५३ जेठ ४ र ५ गतेको राष्ट्रिय भेलाबाट महासङ्घमा परिणत भएको हो ।