सिराज खान
नेपालगन्ज, मङ्सिर २८ गते । बाँके जिल्लामा निरन्तर चलिरहेको ट्राफिक सचेतना अभियानका कारण सवारी दुर्घटना र क्षति दुबैमा कमी आएको छ ।
जिल्ला ट्राफिक प्रहरी कार्यालय बाँकेको तथ्याङ्क अनुसार अघिल्लो वर्षको तुलनामा चालू आर्थिक वर्षमा सवारी दुर्घटनामा कमी आउनुका साथै त्यसबाट हुने क्षति पनि घटेको देखिएको हो ।
जिल्ला ट्राफिक प्रहरी कार्यालय बाँकेका प्रमुख प्रहरी निरीक्षक पुष्करराज पन्तले चालु आर्थिक वर्षको चार महिनामा ७३ वटा सवारी दुर्घटना भएको र ती दुर्घटनामा परी चार महिलासहित २८ जनाले ज्यान गुमाएको बताउनुभयो । गत आर्थिक वर्षको सोही अवधीमा ८० वटा दुर्घटना भएका थिए ।
उहाँले गत चार महिनाको अवधीमा जिल्लामा ६८० पटक ट्राफिक जनचेतनासम्बन्धी कार्यक्रम गरेर करिब २९ हजार चालकहरुलाई प्रत्यक्ष रुपमा सचेत पारिएकाले पनि दुर्घटना र क्षति दुबै घटेको बताउनुभयो ।
सचेतना अभियान अझै पनि निरन्तर जारी रहेको जनाउँदै जिल्ला ट्राफिक प्रहरी कार्यालय बाँकेका प्रमुख पन्तले चालकहरु सचेत हुन थालेपछि दुर्घटना घट्दै जाने प्रष्ट पार्नुभयो ।
उहाँका अनुसार सवारी दुर्घटनामा परेर जिल्लामा साउन र भदौमा ६–६ जना तथा असोज र कात्तिकमा आठ–आठ जनाले ज्यान गुमाएका थिए । प्रमुख पन्तले आर्थिक वर्ष ०७९–०८० को चार महिनाको अवधीमा ६० जनाको मृत्यु भएको र गत आर्थिक वर्ष ०८०–०८१ मा ६६ जनाको सवारी दुर्घटनामा परि ज्यान गएको बताउनुभयो । तर यस वर्ष सोही अवधीमा २८ जनाको मात्र मृत्यु भएको छ ।
चालु आर्थिक वर्षको चार महिनामा एक करोड तीन लाख रुपियाँ राजस्व सङ्कलन भएको प्रमुख पन्तले बताउनुभयो । उहाँले सोमध्ये ११ हजार ८५३ सवारी साधनलाई कारवाही गरेर ९९ लाख १६ हजार र ७१७ जनालाई मापसे कारवाही गरेर तीन लाख २५ हजारभन्दा बढी राजस्व सङ्कलन भएको बताउनुभयो ।
जिल्ला ट्राफिक प्रहरी कार्यालयको तथ्याङ्क अनुसार सवैभन्दा बढी मोटरसाइकल कारवाहीबाट राजस्व सङ्कलन भएको छ । मोटरसाइकल कारवाहीबाट चार महिनामा २७ लाख ६४ हजार रुपियाँ राजस्व सङ्कलन भएको प्रहरी निरीक्षक पन्तले जानकारी दिनुभयो ।