• ११ पुस २०८१, बिहिबार

औषधीसम्बन्धी विधेयक अन्तिम चरणमा

blog

काठमाडौँ, मङ्सिर २८ गते । स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री प्रदीप पौडेलले औषधीसम्बन्धी विधेयक अन्तिम चरणमा रहेको बताउनुभएको छ । प्रतिनिधि सभाको शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समितिमा ‘औषधिको उत्पादन, वितरण, गुणस्तर तथा मूल्यका सम्बन्धमा’ भएको छलफलमा उहाँले संसद्को आगामी अधिवेशनमा औषधी विधेयक प्रस्ताव गर्ने गरी तयारी अन्तिम चरणमा रहेको बताउनुभयो ।

उहाँले भन्नुभयो, “यो विधेयकमा औषधीका विभिन्न पाटो रहेको छ । उत्पादनको सन्दर्भमा हाल नेपालमा १७३ औषधी उद्योगले औषधी उत्पादन गरिरहेका छन् । ती उद्योगबाट करिब ५० प्रतिशतको हाराहारीमा आवश्यकता अनुसारको औषधी उत्पादन हुन्छ । कतिपय औषधी, खोपलगायत नेपालमा उत्पादन हुन सक्दैनन् । औषधीमा आत्मनिर्भर हुने कुरा जटिल नै छ ।”

स्वदेशी उत्पादनलाई प्रोत्साहित गर्ने, कानुनी प्रबन्ध त्यस अनुसार निर्माण गर्ने र स्वदेशमै उत्पादित औषधी खरिद गर्ने, राज्यले निःशुल्क गरेको औषधी स्वदेशी उत्पादन हुनुपर्नेलगायत विषय छलफल गरिरहेको मन्त्री पौडेलले बताउनुभयो ।

मन्त्रालयका सचिव डा. रोशन पोखरेलले नेपालमै उत्पादन हुने औषधीको आयातमा विचार गर्नुपर्ने आवश्यकता रहेको बताउनुभयो । उहाँले भन्नुभयो, “औषधीको खरिद प्रक्रियाले औषधीको उपलब्धतामा समस्या देखा परेको छ । खरिद ऐनलाई पुनर्विचार गर्न आवश्यक छ ।”

सांसद देवेन्द्र पौडेलले बिमा सरल र सहज नभएको बताउनुभयो । उहाँले कुनै नागरिकले भनेको बेला उपचार पाउनुपर्ने बताउनुभयो । सांसद डा. तोसिमा कार्कीले नेपालमा उत्पादन भएको औषधीलाई प्रवर्धन गर्नका लागि सरकारले कस्तो रणनीति ल्याउँदै छ भनेर प्रश्न उठाउनुभयो । त्यसै गरी सांसद सुमना श्रेष्ठले अस्पतालमा उपचार गर्नका लागि मिटरब्याजमा नागरिकले पैसा लिनु परेको बताउँदै स्वास्थ्य उपचार सेवा सर्वसुलभ हुनुपर्ने बताउनुभयो । सांसदहरूले प्रस्तुत विषयमा थप सरोकारवाला र विज्ञ बोलाएर छलफलको आवश्यकता रहेको बताउनुभयो ।