गोकर्ण पौडेल
तुलसिपुर, मङ्सिर २७ गते । तुलसीपुर उपमहानगरपालिका-१३ मा रहेको जन्ती ढुङ्गा संरक्षणमा स्थानीय सरकारको चासो बढेको छ । पौराणिक कालमा जन्ती जानेक्रममा सोही ठाउँमा पुगेको समयमा रात परेको र सोही ठाउँमा अर्को दिन ती जन्ती ढुङ्गाका रूपमा प्रतीक रहेको जनश्रुति रहेको छ ।
करिब एक बिगाहा क्षेत्रफलमा जोडिएर हजारौँ ढुङ्गा छन् । तुलसीपुर उपमहानगरपालिका-१३ ले जन्ती ढुङ्गा क्षेत्र संरक्षणमा चारैतिर तारबार गरिएको वडाध्यक्ष मोहन पौडेलले बताउनुभयो । उहाँले संरक्षणका लागि यस वर्ष बजेटको व्यवस्थापन गरिएको बताउनुभयो ।
वडा न १४ वडाध्यक्ष शङ्कर खड्काले जन्ती ढुङ्गा क्षेत्रमा खानेपानी,विद्युत विस्तार सुरु गरिएको बताउनुभयो । तुलसीपुर उपमहानगरपालिकाका नगरप्रमुख टीकाराम खड्काले मानव उत्पतिकाक्रममा मानव कङ्काल फेला परेको तुही उपत्यकाभित्र पर्ने जन्ती ढुङ्गाको संरक्षणमा विस्तृत विवरण प्रतिवेदन डिपिआर अनुसार बजेट व्यवस्थापन गरिने बताउनुभयो । उहाँले यस क्षेत्रको बाघ ढुङ्गा, हात्ती ढुङ्गा र जन्ती ढुङ्गाको संरक्षण गरी यस क्षेत्रकै पर्यापर्यटनको केन्द्रकारुपमा विकास गरिने बताउनुभयो ।
जन्ती ढुङ्गा संरक्षण समितिका अध्यक्ष हुमबहादुर नेपालीले संरक्षणका लागि विगतदेखि नै प्रचार प्रसार गर्दै आएको बताउनुभयो ।