• १२ पुस २०८१, शुक्रबार

दुई पटक म्याद थप्दा पनि बनेन पुल

blog

दुई पटक म्याद थप्दा पनि अधुरै रहेको सुर्मीनाला पुल । तस्बिर : दिनेश चौधरी

धनगढी समाचारदाता

धनगढी, मङ्सिर २७ गते । डेढ वर्षमा बन्नुपर्ने सुर्मीनाला पुल साढे चार वर्ष पुग्न लाग्दा पनि बन्न सकेको छैन । ठेकेदारको लापर्बाहीका कारण पुल निर्माणमा ढिलाइ भएको हो । दुई पटक म्याद थप गर्दा पनि निर्माण कम्पनीले पुलको काम पूरा गर्न नसकेको पूर्वाधार विकास कार्यालय कैलालीले जनाएको छ । 

सुदूरपश्चिम प्रदेश सरकारको लगानीमा कैलालीको कैलारी गाउँपालिका–३ स्थित सुर्मीनाला खोलामा यो पुल बन्दै छ । बर्का मुडा र भर्री जोड्ने सुर्मीनाला पुलको २०७७ साउन १८ मा ठेक्का सम्झौता भएको थियो । 

२०७८ पुस १८ मा निर्माण कार्य पूरा भइसक्नुपर्ने पुल अझैसम्म अधुरै रहेको पूर्वाधार विकास कार्यालयका प्रमुख रामचन्द्र खत्रीले बताउनुभयो । निर्माण कम्पनीले लापर्बाही गरेका कारण अहिलेसम्म पुल बन्न नसकेको उहाँको दाबी छ । “पुल निर्माणको समयावधि सकिएपछि दुई पटक म्याद पनि थप गरियो,” प्रमुख खत्रीले भन्नुभयो, “म्याद थप्दा पनि ठेकेदारले काम गरेनन् ।”

पुल निर्माणका लागि धनगढीकै थेगिम कन्स्ट्रक्सन प्रालिसँग ठेक्का सम्झौता गरिएको थियो । २०७८ पुस १८ गते निर्माण समयावधि सकिएपछि पहिलो पटक २०७९ असार २३ मा म्याद थप गरिएको थियो । त्यसपछि पनि निर्माणको काम पूरा नभएपछि पुनः म्याद थपिएको थियो । दोस्रो पटक थप गरिएको म्याद गत असार २१ मा सकिएको छ । 

ठेकेदारले अब काम गरेपछि मात्रै म्याद थप गर्ने प्रमुख खत्रीले बताउनुभयो । “अब धेरै काम छैन । स्ल्याब मात्रै हाल्न बाँकी छ,” उहाँले भन्नुभयो, “यस वर्ष जसरी पनि काम गर्छु भनेर ठेकेदारले भनेका छन् । काम गरेपछि म्याद थप हुन्छ ।”

सुर्मीनाला खोलामा निर्माणाधीन २६ मिटर सो पुलको चार करोड ९६ लाख ९१ हजार रुपियाँमा ठेक्का सम्झौता भएको थियो । पुल निर्माणको कार्य अधुरै रहे पनि ठेकेदारले तीन करोड ४३ लाख रुपियाँ भुक्तानी लिइसकेको पूर्वाधार विकास कार्यालयले जानकारी दिएको छ । थेगिम कन्स्ट्रक्सन प्रालिका प्रतिनिधिसँग पटक पटक सम्पर्क गर्न खोज्दा पनि सम्पर्क हुन सकेन ।