कालीकोट समाचारदाता
कालीकोट, मङ्सिर २७ गते । कालीकोट जिल्लामा चिसो अत्यधिक बढेको छ । मङ्सिर २४ गते परेको पानीसँगै कालीकोटमा चिसो बढेको हो । चिसोका कारण जनजीवन कष्टकर बनिरहेको छ । लामो समयपछि परेको पानीसँग आएको हिमपातले चिसो हुँदा यहाँका घोडालाई औल (बेँसी) सारिएको छ । तिलागुफा–९, चिल्खायाका बिर्ख सुनारले चिसो बढेपछि घोडा, भेडा न्यानो क्षेत्रतिर सारिन सुरु भएको बताउनुभयो ।
“हाम्रो क्षेत्र साह्रै चिसो हुन्छ । यस्तो चिसोमा चरिचरन पनि नहुने भएकाले घोडा, भेडालाई औलतिर अर्थात् गाउँको तल्लो क्षेत्रतिर लैजाने गरेका छौँ,” उहाँले भन्नुभयो, “पहिले पहिले अन्य जिल्लामा चरिचरन गराउन सहज हुने गरेको थियो तर पछिल्लो समय प्रायः सामुदायिक वन दर्ता भएका कारण पशुपालकलाई समस्या हुने गरेको छ ।” तिलागुफा–३, फोइमहादेवका जीवन शाहीले सामुदायिक वनका कारण पछिल्लो समय चरिचरन क्षेत्रका लागि समस्या बढिरहेको बताउनुभयो । यहाँ चरिचरन गर्ने भूभाग हिमपातले पुरिन्छ । तलतिर सामुदायिक वनलाई तिरो तिर्दै ठिक्क हुने गरेको गुनासो गर्दै उहाँले तोकेको शुल्कमा चराउन मन लाग्छ भने चराउनु नत्र अन्यत्र लैजानु भनेका कारण उनीहरूले तोकेको शुल्क नै तिर्नु परेको गुनासो गर्नुभयो ।
कालीकोट, जुम्ला, मुगु, हुम्ला जिल्लाका पशुपालक प्रत्येक हिउँदमा घोडा, भेडा औल अर्थात् न्यानो हुने क्षेत्रमा चरिचरनका लागि पशुचौपाया लैजाने गर्छन् । रास्कोट–२ का हंशराज सज्यालले केही वर्षपहिले जस्तो हिमाली क्षेत्रका नागरिकले पशुचौपाया पाल्न छोडेको सुनाउनुभयो । माथि भोटबाट (हुम्लाबाट) खसीलाई बोकाएर नुन ल्याउने र यहाँबाट रातो मार्सी चामल लैजाने चलन बिस्तारै हराउँदै गएको उहाँले सुनाउनुभयो । एक प्रतिशत नुन राख्दा दुई प्रतिशतभन्दा बढी रातो मार्सी चामल दिने गरिएको थियो । अहिले उत्पादन घटेको र जनशक्ति पनि कोही व्यापारी, कोही विदेशतिर जाने चलन बनेपछि खेतीयोग्य जमिन बाँझै हुँदा उत्पादनमा कमी आएको उहाँले बताउनुभयो ।
हुम्लाबाट भोटे जाति बिस्तारै सहरतिर बसाइँ सर्दा र यहाँका युवा विदेशलगायत देशका विभिन्न ठाउँमा रोजगारीका लागि जाने भएकाले गाउँमा पनि कृषि उत्पादन घटिरहेका छन् । चिसो समयमा बेँसी झरेका घोडा, भेडालाई आफ्नो बाँझो जमिनमा बास बसाउने हुँदा मलका कारण बालीनाली पनि निकै सप्रिएको थियो । अहिले त्यस्तो अवस्था छैन । जलवायु क्षेत्रमा काम गरिरहनुभएका इन्जिनियर लीलाराज न्यौपानेले जलवायु परिवर्तनका नकारात्मक असरका कारण जमिन ताँती रहेको र हावा चलेमा त्यो निकै घातक हुने चिकित्सकको भनाइ रहेको बताउनुभयो । दुर्गम पलाँता गाउँपालिकामा जलवायु परिवर्तनको असर निकै बढी पर्ने गरेको छ ।
पलाँता गाउँपालिका–९ थ्रिर्पी नन्द सिंहले तातो समयमा निकै तातो र चिसोमा निकै चिसो हुने गरेको बताउँदै एक्कासि चिसोमा बढी तातो हुने हुँदा तरकारीलाई समेत असर पारेको सुनाउनुभयो । कहिले निकै चिसो हुने गरेको यहाँका नागरिक पनि तराई झर्न थालेको उहाँले बताउनुभयो ।