यादवराज पुरी
रौतहट, मङ्सिर २५ गते । जिल्लाको पूर्वपश्चिम राजमार्ग अन्तर्गत लमाहा धनसार खण्डमा आज बिहान (मङ्गलवार) बा १६ च ३१६२ नम्बरको स्कर्पियो दुर्घटना हुँदा चालकसहित आठ जनाको मृत्यु भएको छ भने चार जना घाइते भएका छन् । बाराको गढीमाई (पञ्चवर्षीय) मेलाबाट सिराहा फर्किने क्रममा बिहान करिब ७ः३० बजे दुर्घटना भएको थियो ।
मृत्यु हुनेमा सिराहा अर्नामा गाउँपालिका–३ का ६० वर्षीया लरुवती देवी महरा, ५० वर्षीया रामकुमार महरा, ३० वर्षीया उर्मिला महरा, ६२ वर्षीया फुलमन्ती देवी चमार, ३० वर्षीया शकुन्तला देवी महरा, ५५ वर्षीया महँगीदेवी महरा, ६० वर्षीया रामकुमारी देवी महरा र चालक ४० वर्षीय श्रीकुमार यादव छन् ।
दुर्घटनामा घाइते चारै जनाको स्थानीय स्वास्थ्य संस्थामा उपचार भइरहेको इलाका प्रहरी कार्यालय चन्द्रनिगाहापुरका डिएसपी राजकुमार राईले जानकारी दिनुभयो ।
स्कर्पियो चन्द्रनिगाहपुर ४ स्थित पूर्वपश्चिम राजमार्गमै रुखमा ठोक्किएर दुर्घटना भएको प्रहरीले जनाएको छ ।
 
                                 
                                                 
                                                             
                                                                 
                                                                 
                                                             
                                                                 
                                                                 
                                                 
                                                 
                                                 
                                                 
                                                 
                                                