• २ माघ २०८१, बुधबार

नगरप्रमुखविरुद्ध पत्रकारको मौन जुलुस

blog

धरान समाचारदाता 

धरान, मङ्सिर २५ गते  । धरान उपमहानगरपालिकाका प्रमुख हर्कराज राईविरुद्ध नेपाल पत्रकार महासङ्घ सुनसरीले सोमबार मौन जुलुस प्रदर्शन गरेको छ । मौन जुलुसमा सहभागीले प्रेस स्वतन्त्रताको सम्मान गर्न माग गर्दै भानु चोकबाट छाता चोक, चतरालाइन हुँदै धरान उपमहानगरपालिकाको गेटमा पुगेर कोण सभामा परिणत भएको थियो । 

प्रेस तथा अभिव्यक्ति स्वतन्त्रतामाथि हस्तक्षेप गर्ने गरी नगरप्रमुख राईले पटक पटक पत्रकारलाई गालीगलौज तथा सञ्चार क्षेत्रमाथि आक्रमण प्रयास गरेको भन्दै नेपाल पत्रकार महासङ्घ सुनसरीले विरोधस्वरूप मौन जुलुस प्रदर्शन गरेको नेपाल पत्रकार महासङ्घ सुनसरीका अध्यक्ष जनकऋषि राईले बताउनुभयो । 

केही दिनअघि नेपाल पत्रकार महासङ्घको केन्द्रीय पार्षद गोपाल दाहालले खोज पत्रकारिता केन्द्रका लागि ‘हर्क साम्पाङको मनमौजी शासन, बेथितिको दलदलमा धरान’ शीर्षकमा लेख लेख्नुभएको थियो । समाचार प्रकाशित भएपछि पत्रकार महासङ्घ सुनसरीका अध्यक्ष जनकऋषि राईले सो समाचारलाई सेयर गरी भिडियो बनाउनुभएको विषयलाई नगरप्रमुख राईले पत्रकार दाहालसहित पत्रकार महासङ्घ सुनसरीका अध्यक्ष जनकऋषि राईविरुद्ध सामाजिक सञ्जालबाट धम्की दिनुभएको थियो । 

अभिव्यक्ति प्रेस स्वतन्त्रतामाथिको ठाडो हस्तक्षेप भएको भन्दै नेपाल पत्रकार महासङ्घ केन्द्र, प्रदेश र सुनसरीले विरोध जनाएका थिए । वरिष्ठ पत्रकार हर्ष सुब्बाले भन्नुभयो, “लोकतन्त्र प्राप्तिका लागि लडेका पत्रकारमाथि लोकतन्त्रको उन्नत अभ्यासबाट आएका जनप्रतिनिधिबाटै असुरक्षित हुनुु दुःखद हो ।  झुटो समाचार लेख्ने पत्रकारलाई दण्डको भागिदार बनाउनु पर्छ तर समाचारको विषयलाई लिएर त्यसरी धम्काउनु गलत हो ।” 

विरोध प्रदर्शनमा पत्रकार, धरानका बुद्धिजीवी, राजनीतिक दलका प्रतिनिधि, विभिन्न सङ्घ संस्थाका प्रतिनिधिलगायतको सहभागिता थियो । यसअघि महासङ्घले गृहमन्त्रीसमक्ष सुरक्षा माग गर्दै ध्यानाकर्षणपत्र बुझाएको थियो ।