• १६ चैत २०८०, शुक्रबार

गोदावरी नगरप्रमुखमा काँग्रेसका महर्जन र उपप्रमुखमा अधिकारी दुवै पुनः विजयी

blog

ललितपुर, जेठ ५ गते । ललितपुरको गोदावरी नगरपालिका प्रमुखमा नेपाली काँग्रेसका गजेन्द्र महर्जन विजयी हुनुभएको छ । उहाँले १९ हजार १७० मत प्राप्त गर्नुभएको हो । महर्जनका निकटतम प्रतिद्वन्द्वी नेकपा एमालेका गम्भीरबहादुर रानाले १५ हजार २३२ मत प्राप्त गर्नुभयो । राष्ट्रिय प्रजातन्त्र पार्टीका राजकुमार महर्जनले एक हजार ४८३ मत ल्याउनुभयो ।

निर्वाचन अधिकृतको कार्यालयअनुसार नगर उपप्रमुखमा काँग्रेसकी मुना अधिकारी १८ हजार ५२६ मतसहित विजयी हुनुभयो । अधिकारीकी निकटतम प्रतिद्धन्द्वीको मत १४ हजार ३०५ रहेको छ । 

गोदावरी नगरपालिकामा काँग्रेसबाट वडा नं. १ को अध्यक्षमा एक हजार ४३७ मतसहित श्रीराज थापा, २ मा एक हजार ४१ मतसहित मनोहर सिलवाल, ४ मा एक हजार मतसहित सानुभाइ नगरकोटी, ६ मा एक हजार ४६६ मतसहित मिलन सिलवाल, ६ मा ८१८ मतसहित विष्णुमान महर्जन निर्वाचित हुनुभयो । 

यसैगरी, काँग्रेका तर्फबाट विजयी हुनेमा वडा ७ मा ८२९ मतसहित मधुराप्रसाद शर्मा, ९ मा एक हजार ८४ मतसहित आत्माराम थापा क्षेत्री, १० मा एक हजार ५९७ मतसहित शेखर न्यौपाने, ११ मा दुई हजार ४२६ मतसहित नीलबहादुर देशार, १२ मा एक हजार ९७० मतसहित जगतबहादुर महर्जन र वडा नंं १४ मा एक हजार २६४ मतसहित निराेज बज्राचार्य विजयी हुनुभयो । 

माओवादी केन्द्रबाट वडा नंं ३ को अध्यक्षमा एक हजार ५९ मतसहित सानुराजा घिमिरे र वडा ८ मा ६५४ मतसहित शुकबहादुर लामा विजयी हुनुभएको छ । वडा नं. १३ मा एमालेका भास्कर थापा एक हजार ४९ मतसहित विजयी हुनुभयो ।