• १३ साउन २०८१, आइतबार

गणतन्त्र दिवस तीन दिनसम्म भव्यरूपमा मनाइने

blog

तस्बिर – गृहमन्त्रीको निजी सचिवालय

गोरखापत्र अनलाइन

काठमाडौँ,  जेठ  ५ गते  । सरकारले गणतन्त्र दिवस तीन दिनसम्म मनाउने भएको छ । बिहीबार प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा बसेको गणतन्त्र दिवस २०७९ मूल समारोह समितिको बैठकले गणतन्त्र दिवस तीन दिनसम्म कार्यक्रम गरी भव्यरूपमा मनाउने निर्णय गरेको हो ।

गृहमन्त्री बालकृष्ण खाणको अध्यक्षतामा बसेको मूल समारोह समितिको बैठकले यही जेठ १४, १५ र १६ गते विभिन्न कार्यक्रम गरी गणतन्त्र दिवस मनाउने निर्णय गरेको हो । 

जेठ १४ गते साँझ सङ्घ, प्रदेश र स्थानीय तहका सबै सरकारी कार्यालयले राष्ट्रिय झण्डा एवम् व्यानर सजाइ साँझ दीपावली गर्ने र आम नागरिकलाई दीपावली गर्न अनुरोध गर्ने निर्णय समितिले गरेको छ । १५ जेठमा हेलिकोप्टरबाट पुष्पवृष्टि र झण्डा प्रदर्शन गरी राष्ट्रपति विद्यादेवी भण्डारीको उपस्थितिमा सैनिक मञ्च टुँडिखेलमा औपचारिक मूल समारोह गरिने सदस्य सचिव गृह मन्त्रालयका सचिव टेकनारायण पाण्डेले जानकारी दिनुभयो । 

त्यसै दिन साँझ आम नागरिक र सरकारी तथा सार्वजनिक कार्यालयहरूले आ–आफ्नो घर, कार्यालय एवम् सार्वजनिक स्थलहरूमा दीपावली गर्ने कार्यक्रम तय भएको छ । १६ जेठमा रेडियो नेपाल तथा नेपाल टेलिभिजनबाट जागरण गीत प्रसारण गर्ने तथा देशवासी र सरकारी तथा सार्वजनिक निकायहरूले आ–आफ्नो घर, कार्यालय एवम् सार्वजनिक स्थलहरूमा साँझ दीपावली गर्ने कार्यक्रम तय भएको छ ।

त्यस्तै, विदेशस्थित नेपाली राजदूतावास, नियोग तथा वाणिज्य दूतावासहरूमा राष्ट्रिय झण्डा फह¥याउने र दीप प्रज्वलन गर्ने निर्णय पनि मूल समारोह समितिले गरेको छ । 

संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले नेपालका विशिष्ट प्राकृतिक एवं सांस्कृतिक विशेषता झल्कने विद्युतीय प्रचार सामग्री तयार गरी परराष्ट्र मन्त्रालयमार्फत विदेशस्थित नेपाली राजदूतावास, नियोग तथा वाणिज्य दूतावासहरूमा पठाउने कार्यक्रम तय भएको छ । 

उपत्यका बाहिरका प्रदेशका राजधानी, जिल्ला र स्थानीय तहहरूमा सरकारी कार्यालय र निकाय एवम् प्रतिष्ठानहरूमा राष्ट्रिय झण्डा फह¥याएर १४, १५ र १६ जेठमा साँझ दीपावली गर्ने कार्यक्रम तय भएको छ । 

प्रधानमन्त्री शेरबहादुर देउवाको संयोजकत्वमा, नेपाल सरकारका मन्त्रीहरू, संवैधानिक निकायका प्रमुखहरू, प्रधान सेनापति विशिष्ठ श्रेणीका राजपत्राङ्कित कर्मचारीहरू र सुरक्षा निकायका प्रमुखहरूलगायत रहने गरी मूल समारोह समिति गठन गरिएको छ । समितिको सदस्य सचिवमा गृहसचिव टेकनारायण पाण्डे रहनुभएको छ । मूल समारोह समितिबाट प्रचार प्रसार, मञ्च सजावट तथा व्यवस्थापन, ग्राउण्ड कवाज एवम् व्यायाम व्यवस्थापन उपसमिति पनि बनाइएको छ ।