• ३ जेठ २०८१, बिहिबार

नवनिर्वाचित पालिका प्रमुखहरूद्वारा शपथग्रहण

दार्चुलाका निर्वाचित जनप्रतिनिधिद्वारा शपथ ग्रहण

blog

लाेकेन्द्र जाेशी

दार्चुला,  जेठ ५ गते । दार्चुलाका नौ वटै स्थानीय तहमा निर्वाचित अध्यक्ष र प्रमुखहरुले बिहीबार शपथ ग्रहण गरेका छन् । मुख्य निर्वाचन अधिकृतको कार्यालय दार्चुलामा जिल्ला न्यायधिस कोमलप्रसाद आचार्यले अध्यक्ष र प्रमुखहरुलाई शपथ ग्रहण गराउनुभएको हो । उपाध्यक्ष र उपप्रमुखसहितका बाँकी जनप्रतिनिधिहरुले पालिकामै शपथ  ग्रहण गर्नेछन् ।

दार्चुलाको दुई नगरपालिका र तीन गाउँपालिका गरी पाँच स्थानीय तह प्रमुखमा नेकपा (एमाले) उम्मेदवार विजयी भएका छन् । चार गाउँपालिका अध्यक्षमा नेकपा (माओवादी केन्द्र) का उम्मेदवार विजयी भएका छन् । जिल्लाभरी काँग्रेस र माओवादी केन्द्रबीच गठबन्धन बनेको छ । माओवादीले नेतृत्व पाएका चार वटै गाउँपालिकामा गठबन्धन विजयी भएको छ । भने काँग्रेसले नेतृत्व पाएका सबै पालिकामा प्रमुख पद गुमाएको छ, काँग्रेसले २०७४ मा जितेका पाँच वटै पालिकामा नेकपा एमाले विजयी भएको छ । वडाहरुमा मिश्रित नतिजा प्राप्त भएको छ । महाकाली नगरपालिकाको प्रमुखमा एमालेका नरसिंह चैसीर, शैल्यशिखर नगरपालिकाको प्रमुखमा एमालेका विजयसिंह धामी निर्वाचित हुनुभएको छ ।

व्यास गाउँपालिकामा एमालेका मंगलसिंह धामी, दुहुँ गाउँपालिकाको अध्यक्षमा एमालेका नरेन्द्र बडाल, मालिकार्जुन गाउँपालिकाको अध्यक्षमा एमालेका हिरासिंह धामी निर्वाचित हुनुभएको छ । लेकम गाउँपालिका अध्यक्षमा माओबादीका रामदत्त जोशी, मार्मा गाउँपालिका अध्यक्षमा माओवादीका जमनसिंह धामी, नौगाड गाउँपालिका अध्यक्षमा माओवादीका दलजितसिंह धामी र अपिहिमाल गाउँपालिका अध्यक्षमा माओवादी केन्द्रका भगतसिंह ठेकरे बोहरा निर्वाचित हुनुभएको छ । नौँ वटै स्थानीय तह प्रमुखहरुले शपथ ग्रहण गर्नुभएको हो ।

६१ वडा रहेको दार्चुलाका ३४ वडामा एमाले विजयी भएको छ । यस्तै १७ वडामा नेपाली काँग्रेस र १० वडामा नेकपा माओवादी केन्द्र विजयी भएको छ । महाकाली नगरपालिकामा एमाले–६ र काँग्रेस–३, शैल्यशिखर नगरपालिकामा एमाले–८ र काँग्रेस–१, व्यास गाउँपालिकामा एमाले–५ र काँग्रेस–१, नौगाड गाउँपालिकामा एमाले–३, माओबादी–२ र कांग्रेश–१, अपिहिमाल गाउँपालिकामा कांग्रेस–३ र माओवादी–३, मार्मा गाउँपालिकामा एमाले–२, कांग्रेस–१ र माओवादी–३, दुहुँ गाउँपालिकामा एमाले–२, काँग्रेस–२ र माओवादी–१, मालिकार्जुन गाउँपालिकामा एमाले–४, काँग्रेस–३ र माओवादी–१, लेकम गाउँपालिकामा एमाले–४ र काँग्रेस–२ वडामा विजयी भएको छ ।

जनप्रतिनिधिहरुलाई प्रमाणपत्र

दार्चुलाका अधिकांश स्थानीय तहमा नवनिर्वाचित जनप्रतिनिधिहरुलाई निर्वाचित भएको प्रमाणपत्र प्रदान गरिएको छ । लेकम गाउँपालिकामा निर्वाचित भएका सबै पदाधिकारीहरुलाई प्रमाणपत्र प्रदान गरिएको निर्वाचन अधिकृतको कार्यालय रातामाटाले जनाएको छ । नगरप्रमुख, उपप्रमुख, गाउँपालिका अध्यक्ष, उपाध्यक्ष, वडा अध्यक्ष र वडा सदस्यहरुलाई प्रमाणत्र प्रदान गरिएको हो । महाकाली, शैल्यशिखर, दुहुँ, अपिहिमाल लगायत अधिकासं स्थानीय तहका निर्वाचित जनप्रतिनिधिहरुले प्रमाणपत्र बुझिसकेको जनाएका छन् ।

स्थानीय तहका जनप्रतिनिधिहरूको पाँच वर्षे पहिलो कार्यकाल सकिएको छ । स्थानीय तहको दोस्रो कार्यकालका लागि गत वैशाख ३० गते सम्पन्न निर्वाचनबाट निर्वाचित जनप्रतिनिधिहरुले जिम्मेवारी प्राप्त गर्ने क्रममा छन् । विजयी भएका अधिकांश जनप्रतिनिधि मतदातालाई धन्यवाद ज्ञापन गर्न घरदैलो अभियानमा लागेका छन् ।